१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


केशरमहलको निरीक्षणमा शिक्षामन्त्री, राति १२ बजेसम्म काम


403
Shares

काठमाडौं, पुस २५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलमा निरीक्षण गर्नुभएको छ ।

आइतबार मन्त्री पौडेलले मन्त्रालयको केशरमहलस्थित रहेको शाखा कार्यालयमा निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा मन्त्री पौडेलले ‘नो अब्जेक्सन लेटर’ लिन लाइनमा बसेका विद्यार्थीहरुलाई मन्त्रालयको शाखाबाट प्रवाह हुने सेवाको विषयमा जानकारी लिनुभएको छ ।

शाखा कार्यालयका उपसचिव हरिप्रसाद निरौलाले सेवाग्राहीको कामका लागि राति १२ बजेसम्म पनि काम गरिरहेको बताउनुभएको छ ।

‘सेवाग्राहीको सेवाका लागि राति १२ बजेसम्म पनि काम गछौं,’ उपसचिव निरौलाले भन्नुभयो,‘रातको अन्तिम उडान नभएसम्म सुत्दैनौं ।’ कतिपयले अन्यबाटोबाट ‘नोअब्जेक्सन’ लेटर बनाउँदा विमानस्थलबाट फर्किने गरेको निरौलाको भनाइ छ ।

मन्त्री पौडेलले सेवाग्राहीको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । कर्मचारी अभाव भएका कारण सेवाग्राहीलाई तत्कालै सेवा दिन नसिकएको उपसचिव निरौलाको भनाइ छ ।

नो अब्जेक्सन लेटर अनलाइन प्रणालीमा लगेपछि ११ करोडभन्दा बढी राजश्व संकलन गर्न सफल भएको उपसचिव निरौलाले जानकारी दिनुभयो । शाखाले दैनिक ३ सय ५० बढी निवेदन अनलाइनमार्फत प्रमाणित गर्दै आएको छ ।