१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हात थाप्दै राष्ट्रिय आविष्कार केन्द्र

प्रतिभा जन्माउने संस्थाकै दुर्भाग्य

3.185k
Shares

काठमाडौं, पुस २५ । निर्यातमुखी अर्थतन्त्र नेपालको परिचय बन्दै आइरहेका बेला राष्ट्रिय आविष्कार केन्द्रले एक दशकदेखि विभिन्न वस्तुको निर्माण गरी अन्धकारमा दीयो जगाउने काम गरेको छ । नेपालमा आविष्कार र अनुसन्धानमूलक क्षेत्रमा कम लगानी हुने गरेको अवस्थामा केन्द्रले कृषि औजार निर्माणमा आफ्नो ध्यान केन्द्रित गरेको छ । उसले बनाएको बच्चालाई न्यानो बनाउने बेबी वामर र रोटी बेल्ने मेसिन उपभोक्ताले रुचाएको बताइएको छ ।

अन्तर्राष्ट्रिय ख्यातीप्राप्त म्यागासेसे पुरस्कार विजेता डा. महावीर पुनको अथक मेहनतबाट जन्मिएको यो संस्था देशैभरका वैज्ञानिक सोच भएका उम्दा प्रतिभाका लागि गुरुकुल शिक्षा हो भन्दा फरक पर्दैन । विचार आविष्कारमा बदलेर समाजलाई गुन लगाउन सक्ने युवाको सीप र ज्ञान केन्द्रले प्रवद्र्धन गर्दै आएको छ । यस संस्थालाई त्रिभुवन विश्वविद्यालयले तीन वर्षअघि परीक्षण मान्यता दिएको हो । केन्द्रले प्राथमिकतासाथ कृषिसम्बन्धी यन्त्र तथा उपकरण निर्माण गरिरहेको छ । मकै छोडाउने र गोबर सोर्ने मेसिन बनाउन यहाँका युवा वैज्ञानिकहरु एकलव्य भएर लागेका छन् । सबैलाई उपयोग हुने औजारको निर्माण गर्ने गरेको राष्ट्रिय आविष्कार केन्दका अध्यक्ष डा. महावीर पुन बताउनुहुन्छ ।

यसबाहेक कोभिडको महामारीपछि केन्द्रले सिलिण्डरलगायत विभिन्न उपकरण निर्माण गरेर समाजमा आफ्नो दायित्व स्थापित गरेको छ । रकेट बनाउनेदेखि विभिन्न क्षेत्रमा गरेका ८० आविष्कारमध्ये २५ वटामा केन्द्रलाई अभूतपूर्व सफलता मिलेको छ । केन्द्रले नयाँ आविष्कारभन्दा पनि समाजोपयोगी सामानको अनुसन्धानपछि विकास गरेर बजारीकरण गर्नु आफ्नो उद्देश्य रहेको बताउँदै आएको छ । अनुसन्धान आविष्कारका क्षेत्रमा नेपाली समाज मरुभूमि समान रहेकाले प्रतिभा उमार्न कठिन रहेको र त्यसको लागि अवसर दिने गरेको केन्द्रका अध्यक्ष पुनको विश्लेषण छ ।

केन्द्र देशैभरका प्रतिभालाई समान अवसर दिइएको दावी गर्छ । यहाँ अनुसन्धानरत कतिपय व्यक्तिले आफ्नै नाममा कम्पनी दर्ता गरिसकेका छन् । सरकारी सहयोग हुने हो भने विदेशबाट आयात हुने मेशिनरी वस्तु उल्लेख्य संख्यामा घटाउन सकिने अन्वेषक भीमबहादुर क्षेत्रीको विश्वास छ ।

मुलुकलाई उत्पादनशील बनाई परनिर्भरता घटाउने प्रतिवद्धता हरेक सरकारले व्यक्त गर्ने गरेका छन् । तर सीप र ज्ञानका यस्ता प्रतिभा जन्माउने संस्था भीख माग्ने अवस्थामा हुनु दुर्भाग्यपूर्ण छ ।