१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


यौनका कुरामा खुल्दै प्रवासीका श्रीमती (भिडियो)


3.64k
Shares

कञ्चनपुर । जिल्लाको पुनर्वास नगरपालिका–३ बुटाबारीकी गीतादेवी साउँद अहिले खुलेरै एचआइभी एड्सका बारेमा कुरा गर्न थाल्नुभएको छ । उहाँलाई एचआइभी भनेको सामान्य रोग जस्तै लाग्न थालेको छ ।

श्रीमान् वैदेशिक रोजगारमा रहे पनि दुई वर्षअघिसम्म उहाँले खुलेर एड्सका बारेमा कुरा गर्न सक्नुहुन्नथ्यो । न त सहज रूपमा जाँच गर्न सक्ने अवस्था नै थियो ।

समाजमा समेत यो रोगलाई हेर्ने दृष्टिकोण नकारात्मक भएकाले लुकेर जाँच गर्नुपर्ने अवस्था थियो । तर, अहिले समुदाय स्तरमै एचआइभीको जाँच हुन थालेपछि आफूहरूलाई सहज भएको उहाँको भनाइ छ ।

गीतादेवी साउँदमात्रै होइन, अहिले कञ्चनपुरमा रहेका प्रवासी परिवारका महिलाहरू खुलेरै एचआइभी एड्सका बारेमा कुरा गर्नसक्ने भएका छन् ।

एनएनएस डब्लु ए ले आप्रवासी परिवार र यौन व्यवसायीलाई लक्षित गरी एड्सका बारेमा जनचेतना फैलाउन थालेपछि कञ्चनपुरका प्रवासी परिवारका महिलाहरू त्यसबारे खुलेरै बोल्न सक्ने भएका हुन् ।

उनीहरुले आफू मात्रै सचेत नभइ श्रीमान् र समुदायमा समेत त्यसबारे सचेतना फैलाउन थालेका छन् ।

एनएनएस डब्लु एले घर–घरमा आएर जाँच गर्दा आफूहरूलाई टाढा–टाढा जानुपर्ने झन्झट हट्नुका साथै जोखिमबाट बच्न पनि सहयोग गरेको प्रवासीकी श्रीमती रेखा विक बताउनुहुन्छ ।

कञ्चनपुरमा एचआइभी संक्रमितको संख्या ६ सय ६ जना छ । जसमध्ये यो बर्ष मात्र १७ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमितमध्ये ३ सय ६९ जनाले नियमित औषधी सेवन गरिरहेका छन् ।

प्रवासी र सीमावर्ती क्षेत्रलाई उच्च जोखिम क्षेत्रमा राखेर जनचतेनाता जगाउने र चेकजाँचको काम भइरहेको एनएनएस डब्लु ए का आप्रवासी र तिनीहरूको चरण परियोजना प्रमुख आरती सुनारको भनाइ छ ।

त्यसैले पछिल्लो समय ग्रामीण क्षेत्रका महिलाहरु एकआपसमा सचेत हुने र सचेतना जगाउने काममा खुलेरै लाग्न थालेका छन् । महिलाहरूको यस्तो कामलाई स्थानीय सरकारले पनि सहयोग गरे पक्कै पनि महिलाहरूको जीवनस्तरमा सुधार आउने थियो ।