
बागलुङ । सूचना प्रविधिको तिव्रतर विकास भईसके पनि बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिका–३ तमान गाउँमा कटुवाल प्रथा अझै प्रचलनमा छ । गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको माध्यमको रुपमा मानिएको कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीयले बताएका छन् ।
कटुवालको मुख्य काम भनेको सूचना प्रवाह गर्ने हो । अहिले स्थानीय रुपलाल बुढा मगरले कटुवालको काम गरिरहेका छन् । गाउँलेहरुबाट आफुले यो जिम्मेवार पाएको तीन वर्ष भएको उहाँको भनाई छ । गाउँलाई सूचना दिनु राम्रो काम भएको भन्दै सूचना प्रवाहको भरपर्दो माध्यम बन्न पाएकोमा आफु खुसी रहेको उहाँको भनाई छ । तमानखोलामा चार बर्ष पुगेपछि कटुवाल फेर्ने चलन रहेको छ ।
गाउँमा एक जना मुखिया समेत छन् । मुखियाले दिएको आदेश अनुसार रुपलालले गाउँलेलाई सूचना दिने काम गर्छन् । ललित घर्ती मगर अहिले गाउँका मुखिया चुनिनुभएको छ । उहाँ मातहत नै कुटुवालले काम गर्नु पर्ने हुन्छ ।
कटुवालको मुख्य काम चर्को स्वरमा कुर्लिएर (हाँको हाल्ने) सूचना प्रवाह गर्ने हो । कटुवालले गाउँमा पूजाआजा, झारा, मेला महोत्सव तथा अन्य सार्वजनिक कार्यक्रमहरु हुँदा गाउँलेको कानकानमा सूचना पुर्याउने गर्दछन् । तमान गाउँमा ३ सय ७४ घरधुरी छन् ।
प्रतिक्रिया दिनुहोस्