
काठमाडौं । पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विभागिय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ ।
टियु क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा अर्काे विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले लगातार दोस्रो जित दर्ता गरेको हो ।
१ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।
पुलिसका लागि कुशल भुर्तेलले ३५ रन, रासिद खानले २८ रन बनाए । दिलिप नाथले २५ रनमा अविजित रहे । अनिल साहले २२ रनको योगदान गरे । आर्मीका लागि साहाव आलमले तीन, जितेन्द्र मुखियाले दुई र कुशल मल्लले एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी निर्धारित ओभरको एक बल बाँकी छदा १ सय ३७ रनमा अलआउट भएको थियो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ४४ रन जोड्दा सोमपाल कामीले ४२ रनको योगदान गरे ।
पुलिसका करण केसीले सर्वाधिक चार विकेट हात पारे । गुल्सन झा र योगेन्द्र सिंह कार्कीले समान दुई/दुई विकेट लिदा आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक/एक विकेट हात पारे ।
पुलिसले पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको थियो । आर्मीले भने पहिलो खेलमा कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको थियो ।
२ खेलबाट ४ अंकसहित पुलिस समूह ‘ए’ मा शीर्ष स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्