१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पूर्वमाओवादी घटकहरूसँग एकताको सम्भावना छैन : मोहन वैद्य

‘याे सरकारले ओली सरकार जति पनि बोलेन’

1.638k
Shares

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्व माओवादी घटकहरूसँग एकताको सम्भावना नरहेको बताउनुभएको छ ।

मंगलबार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव वैद्यले नेकपा(माओवादी केन्द्र) लगायतका पूर्व माओवादी घटकहरु बिचमा एकताको सम्भावना नरहेको बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता हुन्छ भनेर लगातार भनिरहे पनिसो पार्टीसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो । आफूहरूले वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने र माओवादी केन्द्र संसदीय व्यवस्थाको संरक्षकको रूपमा अघि बढेकाले एकताको सम्भावना नरहेको उहाँले बताउनुभयो ।

वैद्यले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताउनुभयो । ती पार्टीहरूसँग पनि राजनीतिक लाइन नमिलेको उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्दै महासचिव वैद्यले एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको भए पनि वर्तमान सरकार केपी शर्मा ओली नेतृत्वको सरकार जति पनि बोल्न नसकेको बताउनुभयो ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले सो क्षेत्रमा बाटो विस्तारको काम जारी छ भनिराखेको भए पनि नेपाल सरकार भने चुप लागेर बसेको उहाँले बताउनुभयो । उहाँले राष्ट्रिय स्वाधिनताको निम्ति सशक्त रूपमा उभिनुपर्ने आवश्यकता आंैल्याउनुभयो ।

महासचिव वैद्यले आगामी संसदीय निर्वाचनमा आवश्यकता अनुसार पार्टीको केन्द्रीय कमिटीको निर्णयमा उपयोग अथवा वहिष्कारको नीति लिइने उल्लेख गर्नुभयो ।