
काठमाडौं । सरकारले मंगलबारदेखि काठमाडौं उपत्यकामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन सुरु गरेको छ ।
माघ ४ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा ५ गते भने यसअघि छुटेका बालबालिकालाई लगाइने जनाइएको छ । सबै विद्यालयमा खोप कार्यक्रम सञ्चालन गरिने भनिए पनि स्थानीय तहहरूले व्यवस्थापन गर्न नसक्दा मंगलबार पहिलो दिन केही विद्यालयमा मात्र खोप कार्यक्रम सञ्चालन भएको छ ।
कोभ्याक्स कार्यक्रमअन्तर्गत प्राप्त फाइजर र मोर्डनाको खोप मंगबारदेखि लगाउन सुरू गरिएको हो । १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिमा लगाउन मिल्ने खोप मंसिर महिनामा ५७ जिल्लाका किशोर, किशोरीमा लगाइएको थियो ।
पुस २७ गतेदेखि काठमाडौं र ललितपुर जिल्लामा भने फाइजरको खोप लगाउन सुरू भएको छ भने भक्तपुरमा २५ गतेदेखि नै मोडर्नाको खोप लगाउन सुरू भइसकेको छ ।
२ सय भन्दा बढी विद्यार्थी भएका विद्यालयहरूमा केन्द्र स्थापना गरी खोप कार्यक्रम सञ्चालन गर्ने जनाइए पनि सो अनुसारको केन्द्र तोकिएको छैन । खोप लगाउने सबै जिम्मा स्थानीय तहलाई दिएको जनाइए पनि व्यवस्थापन फितलो हुँदा एक वडाले एक विद्यालयमा मात्र खोप कार्यक्रम सञ्चालन गरेको पाइयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयहरूले भने खोप केन्द्र राख्ने, खोप लगाउने सम्पूर्ण जिम्मा वडा कार्यालयहरूलाई दिएका कारण कति खोप केन्द्र छन् भने जानकारी नभएको जनाएका छन् । मंगलबार काठमाडौं महानगरपालिकाको ३२ वडामा नै खोप कार्यक्रम सञ्चालन भएको जनाए पनि खोप केन्द्र भने धेरै कम रहेको पाइएको छ ।
महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले एक साता चल्ने खोप अभियानमा सबै वडाले आफ्नो तयारी अनुसार खोप लगाउने जानकारी दिनुभयो । वडाले विद्यार्थी संख्या हेरेर माघ ४ गतेसम्म खोप लगाउने तालिका तोकेको उहाँको भनाइ छ ।
यस्तै, ललितपुर महानगरपालिका पनि मंगलबार सबैतिर खोप कार्यक्रम सञ्चालन भएको छैन । जिल्लाभित्रका ६ पालिकाहरूले आफनो तरिकाले खोप केन्द्र तोकेको जनाएका छन् ।
गत असोजदेखि कम हुँदै गएको कोरोना संक्रमण पुनः बढ्न थालेको समयमा विद्यार्थीहरू खोप लगाउन पाउँदा भने निकै खुसी देखिन्थे । अब कोरोना संक्रमणबाट बचिने भयौं भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन् ।
एक साताभित्र काठमाडौं महानगरपालिका भने १ लाख ४० हजार विद्यार्थीलाई खोप लगाउने जनाएको छ । खोप लगाउन ६४ जना कर्मचारी तोकिएको छ । यस्तै यता ललितपुर महानगरपालिकाले पनि ४४ हजार विद्यार्थीलाई खोप लगाउने जनाएको छ ।
सबै विद्यालयहरुमा खोप केन्द्र तोकिएको भन्दै सूचना पुर्याएका कारण धेरै विद्यार्थीहरू विद्यालय पुगेर फर्किएका थिए । कुन-कुन विद्यालयमा खोप लगाउने हो भन्ने जानकारी नदिँदा र व्यवस्थापन फितलो हुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।
प्रतिक्रिया दिनुहोस्