
काठमाडौं, पुस २७ । कोरोना संक्रमणको जोखिम बढेसँगै राजनीतिक दलका कार्यक्रमहरु प्रभावित भएका छन् ।
केही शीर्ष नेताहरुमा समेत कोरोना संक्रमण देखिएपछि राजनीतिक दलका कार्यक्रम प्रभावित भएका हुन् ।
केही जिल्ला बाहेक देशैभर एकसाथ अधिवेशन गरेको नेकपा एमालेले आगामी माघ ८ मा गर्ने प्रदेश अधिवेशनको मिति सारेर माघको २८ र २९ मा गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएसँगै उहाँ हाल होम आइसोलेसनमा हुनुहुन्छ । पार्टी केन्द्रीय कार्यालयका ६ जना कर्मचारीलाई समेत संक्रमण पुष्टि भएपछि माओवादीले पार्टी केन्द्रीय कार्यालय समेत बन्द गरेको छ ।
माओवादीले पूर्वनिर्धारित केन्द्रीय समितिको बैठक समेत सारेको छ । माओवादीका अन्य शीर्ष नेतासमेत संक्रमणका कारण होम आइसोलेसनमा छन् ।
यता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । नेकपा एसले उपत्यकासहित देशभर बढिरहेको संक्रमणलाई मध्यनजर गर्दै सभा, सम्मेलन जस्ता धेरै व्यक्ति उपस्थित हुने कार्यक्रम स्थगित गरेको छ ।
संक्रमणलाई मध्यनजर गर्दैै सरकारले पनि २५ जना भन्दा धेरै उपस्थित हुने कार्यक्रम नगर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्