१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बढेको ट्याक्सीभाडा माघ १ देखि लागू हुने, वर्गीकरणको तयारीमा विभाग


1.079k
Shares

काठमाडौं । भाडा समायोजनको माग गरी वर्षौंदेखि मिटरमा चल्न अटेर गर्ने ट्याक्सी चालकको मागअनुरुप भाडादर समायोजन भएपछि त्यसबारे मिश्रित प्रतिक्रिया देखिएको छ ।

सरकारी निर्णयले उपभोक्ता आफ्नो ढाड सेकिएको गुनासो गर्छन् भने माग पूरा भएपछि पनि चालक उत्साही देखिदैनन् । सरकारले निर्णय त गर्‍यो तर यसको प्रभावकारिताका विषयमा अझै अन्योल कामय छ ।

भाडा समायोजनका लागि ट्याक्सी व्यवसायीहरूले पटक–पटक हड्ताल तथा विभिन्न किसिमको दबाबमूलक कार्यक्रम गर्दै आएका थिए । बागमती प्रदेश सरकारले यही माघ १ देखि कार्यान्वयनमा आउने गरी भाडा समायोजन गरेको छ ।

परिमार्जित भाडादरअनुसार उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्म यात्राको सुरू ‘फ्लाग डाउन’ ६० रुपैयाँ कायम भएको छ । त्यसपछि सुरूको एक किलोमिटर यात्रापछि प्रतिदुई सय मिटरको नौ रुपैयाँ असी पैसाका दरले थप हुनेछ ।

भाडा समायोजन वैज्ञानिक रहेको र छोटो दूरीमा जान नमान्ने ट्याक्सी सञ्चालकको माग यसले पूरा गरेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे बताउनुहुन्छ । १ किलोमिटर भन्दा छोटो दूरीमा ट्याक्सी नचढ्दा नै ठिक हुने उहाँको भनाइ छ ।

लामो समयपछि भाडा समायोजन भएपछि ट्याक्सी व्यवसायीहरू उत्साही हुनुको सट्टा असन्तुष्ट देखिन्छन् । समायोजन भए पनि चित्तबुझ्दो नभएको गुनासो उनीहरूको छ । यद्यपि भाडा बढ्दा उनीहरू खुसी नै देखिन्छन् ।

विश्वमा ट्याक्सी सेवा प्रदायक उपभोक्ताले भनेको ठाउँमा जान्न भन्न नपाइने प्रावधान भए पनि नेपालमा यो सेवाप्रति आम उपभोक्ताको गुनासो छ । आपत परेका जान नमान्ने, माने पनि मोलतोल गर्ने ट्याक्सी चालकको प्रवृत्ति रहेको उनीहरूको आरोप छ ।

यातायात व्यवस्था विभाग भने ट्याक्सी सेवाको वर्गीकरण गरी सेवालाई चुस्त दुरुस्त बनाउनुपर्ने मान्यता राख्छ । पैसा धेरै तिरेर राम्रो सुविधा भएको ट्याक्सी चढ्छु भन्दा यात्रुले पाउनुपर्ने उहाँको भनाइ छ । त्यसका लागि साधारण, डिलक्स र सुपर डिलक्स गरी तीन किसिमको वर्गीकरणो विषयमा विभागले तयारी गरिरहेको उहाँ बताउनुहुन्छ ।

ट्याक्सी चालकले समायोजनको माग राखे, सरकारले बढायो । तर उपभोक्ताको हितमा कसैको ध्यान गएन । जताबाट पनि उपभोक्ता लुट्ने काम हुने गरेको उनीहरुको बुझाइ छ । सरकारले महंगी र मूल्य वृद्धिदरलाई नियन्त्रण गर्नुको सट्टा झन् प्रोत्साहित गरेको उनीहरूको भनाइ छ ।

सरकारी निर्णय हिँड्दैछ, पाइला मेट्दै छ बन्ने खतरा छ । सार्वजनिक यातायातको अवैज्ञानिक किसिमले बढाइएको भाडाका कारण दैनिक लुटिनुपर्ने उपभोक्ताको समस्यामाथि सरकार बेखबर भइरहँदा ट्याक्सी भाडाको समायोजन प्रभाव कस्तो होला, त्यो भने हेर्न बाँकी छ ।