१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


पूर्वसांसद एवं समाजसेवी मैयाँदेवी अस्वस्थ


0
Shares

चितवन, माघ २७ । पूर्वसांसद एवं समाजसेवी मैयाँदेवी श्रेष्ठ अस्वस्थ भएकी छन् ।

छाती दुख्ने, निद्रा नलाग्ने हुँदै श्वासप्रश्वासमा समस्या देखिएपछि श्रेष्ठलाई माघ २४ गतेदेखि चितवन मेडिकल कलेजमा भर्ना गरेर उपचार थालिएको छ ।

श्रेष्ठको हेरचाह गर्दै आउनुभएका टङ्कनाथ पौडेलका अनुसार श्रेष्ठलाई समस्या देखिएपछि अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपाने र डा शीतल अधिकारीको निगरानीमा उपचार शुरु गरिएको छ ।

उनी अस्वस्थ भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, नेता प्रकाशमान सिंह, गगनकुमार थापालगायतले भेटी  स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका छन् ।

एकानब्बे वर्षीया श्रेष्ठ गोर्खा क्षेत्र नम्बर २ बाट वि.सं २०४८ मा निर्वाचित भएकी थिइन् । त्यसपछि उनी राष्ट्रियसभा सदस्यमा मनोनीतसमेत भएकी थिइन् ।

कांग्रेस केन्द्रीय कार्यालय, चितवनस्थित जिल्ला कार्यालय, भरतपुर महानगरपालिका–१ को कार्यालयसँगै मैयादेवी कन्या कलेज, नेपाल प्रेस युनियन चितवन, ओम शान्तिलगायत सङ्घसंस्थालाई उनले जग्गा दान गरेकी छन् ।

पौडेलका अनुसार श्रेष्ठले दान गर्नुभएको सम्पत्तिको अहिलेको मूल्य रु. एक अर्ब हाराहारी हुन आउँछ । रासस