१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ३५ करोड


0
Shares

नारायण अधिकारी (रासस)

चितवन, माघ २७ । यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ आयोजना गरिएको धनधान्याचल महोत्सवमा हालसम्म नगद र बोलकबोल गरी रु. ३५ करोड बढी सङ्कलन भएको छ ।

महायज्ञ मूल आयोजक समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार आज अन्तिम दिन थप रु. २० करोड सङ्कलन हुने अपेक्षा गरिएको छ । यससँगै महायज्ञबाट रङ्गशालालाई रु. ५५ करोड सङ्कलन हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।

रङ्गशाला सहयोगार्थ भनिएपछि महायज्ञमा जिल्लाका घरघरबाट आर्थिक सङ्कलन गरी टोल, आमा समूह, सरकारी र गैरसरकारी कार्यालय, स्थानीय तह, सामूदायिक वन, सहकारी, क्लब, स्वास्थ्य संस्था, शिक्षण संस्थाले रकम सङ्कलन गरी महायज्ञमा बुझाएका छन् । मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेका अनुसार हालसम्म सबैभन्दा बढी वाग्मती प्रदेश सरकारले रु. १५ करोड उपलब्ध गराउने महायज्ञमा घोषणा गरेको छ ।

यसैगरी जिल्ला समन्वय समिति चितवनले रु. दुई करोड २२ लाख घोषणा गरेको छ भने नवलपरासीको गैँडाकोट नगरपालिकाले रु एक करोड बराबर सहयोग गर्ने जनाएको छ । यसैगरी भरतपुर महानगरपालिकासहित जिल्लाका सबै स्थानीय तहले रकम घोषणा गरेका छन् । चुकेका अनुसार आज प्रदेश सरकार र भरतपुर महानगरपालिकाले रकम थप गरी घोषणा गर्ने कार्यक्रमा रहेको छ । निजी क्षेत्रबाट सबैभन्दा बढी गोल्डमाइण्ड विजनेश समूहका अध्यक्ष वामदेव गौलीले रु. एक करोड १२ लाख बराबरको जग्गा दान गर्नुभएको छ ।

पोल्ट्री व्यवसायीहरुले रु एक करोड घोषणा गरेका छन् । उद्योग वाणिज्य सङ्घ चितवन, उद्योग सङ्घ चितवन, चेम्बर अफ कमर्स, उद्योग परिसङ्घलगायतका सङ्घसंस्थाले महायज्ञमा रकम सहयोग गरेका छन् । महायज्ञका वाचन दिनबन्धु पोखरेलले आफूले पारिश्रमिक नलिने घोषणा गर्दै स्वयम् सहयोगको घोषणा गरे । जसले अरूलाई पनि उत्साहित बनाएको छ । जिल्लाका उद्योगी, व्यवसायी, जनप्रतिनिधि, सांसद, प्रदेशसभा सदस्य, पूर्वसांसदहरुले सहयोग गरेको कोषाध्यक्ष शङ्कर कँडेलले बताए ।

उनले भने, “भरतपुर महानगरभित्रका धेरैले धेरथोर महायज्ञमार्फत रङ्गशालालाई सहयोग गरेका छन् ।” जिल्लाका अन्य स्थानीय तहमा पनि गाउँगाउँबाट रकम सङ्कलन भएको उनले जानकारी दिए । नगदसँगै हालसम्म रु. ४५ लाख ७९ हजार २०० बराबरको धानसमेत सङ्कलन भएको छ । सहकोषाध्यक्ष त्रिलोचन कँडेलले जिल्लामा यति धेरै उत्साहका साथ महायज्ञ भएको बताउनुभयो ।” महायज्ञ स्थल नजिकै रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ ।

रङ्गशाला निर्माणमा पनि स्वयंसेवी रुपमा काम गर्नेहरु दिनहुँ आउने गरेका छन् । महानगर प्रमुख रेनु दाहालले चितवनवासीमात्रै नभएर  धेरैले रङ्गशालालाई अपनत्व ठानेकै कारण महायज्ञमार्फत सहयोग गर्न सकारात्मक भएर लागेको बताए । उनले रङ्गशाला निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रियस्तरका खेल यहाँ हुने बताए ।  

धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा रङ्गशाला निर्माण भइरहेको छ । रङ्गशाला निर्माण गर्न करिब रु. दुई अर्ब ५० करोड खर्च हुने अनुमान छ । जनस्तरबाट निर्माण हुन लागेको देशकै यो पहिलो रङ्गशाला हो । रासस