
काठमाडौं, पुस २८ । इन्डियन प्रियिमर लिग (आईपीएल)का दुई नयाँ टोली अहमदाबाद र लखनउले खेलाडी अनुबन्धनका लागि अनुमति पाएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बुधबार दुई टोलीलाई खेलाडी अनुबन्धनको अनुमति दिएको हो । बीसीसीआईको अनुमतिसँगै अहमदाबाद र लखनउले बढीमा तीनजना खेलाडीलाई अनुबन्धन गर्न पाउने छन् । ती तीन खेलाडीमध्ये एकजना विदेशी खेलाडी राख्न पाउने छन् । यद्यपि, यी दुई टोलीलेले ती तीन खेलाडी जनवरी २२ तारिखसम्म अनुबन्धन गरिसक्नु पर्नेछ ।
उनीहरुले बाँकी खेलाडी फेबु्रअरी १२ र १३ तारिखमा बैंगलोरमा हुने मेगा अक्सनबाट अनुबन्धन गर्ने छन् । अहिले दुबै नयाँ आईपीएल टोलीले आफ्ना तीन खेलाडी छनोट गर्नुपर्नेछ । जसलाई उनीहरू आफ्नो टोलीमा राख्न सक्नेछन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार लखनउले केएल राहुललाई भित्र्याउने लगभग पक्का भएको छ । टोलीले उनैलाई कप्तानी भूमिका दिनेगरी प्रक्रिया अगाडि बढाएको छ । उनी यसअघि पञ्जाब किंग्सबाट खेलेका थिए । यता, अहमदाबादले भने हार्दिक पाण्ड्यालाई भित्र्याउने प्रयास गरिरहेको छ । हार्दिक यसअघि मुम्बई इन्डियन्सबाट खेल्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्