
बैतडी । मंसिर १५ गतेदेखि सम्पर्कविहीन एक युवकको शव गाडिएको अवस्थामा फेला परेको छ ।
जिल्लाको सुर्नया गाउँपालिका–६ खर्काधारका ३० वर्षीय डम्बर अवस्थीको शव घर नजिकैको गुफामा गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
आफूहरू घटनास्थलमै रहेको र शव सडेको अवस्थामा भेटिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रमेश पालले जानकारी दिनुभयो ।
स्थानीय हरिश भनिने हरि अवस्थीले देखाएको स्थानमा शव भेटिएको प्रहरी नायव उपरीक्षक पालले बताउनुभयो । हरि अवथीलाई केही समयअघि विप्लव समूहले आफूलाई अपहरण गरेको थियो । उनलाई बाँकेबाट प्रहरीले सकुशल उद्धार गरेको थियो ।
घरायसी रिसीबीका कारण आफूले नै डम्बरको हत्या गरेको हरिशले स्वीकारेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि हरिशले नै हत्या गरेको हुनसक्ने धेरै आधारहरु फेला पारेको छ ।
‘हरिशले नै लोकेशन दिएकोले उनले नै हत्या गरेको खुल्न आएको छ,’ प्रहरी नायव उपरीक्षक पालले भन्नुभयो, ‘शव निकालेर परीक्षणका लागि अस्पताल ल्याउने तयारी भएको छ ।’
हत्या एक्लैले गरेको वा अरु पनि संलग्न रहेको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पक्राउ परेका हरिश सिद्धनाथ आधारभूत विद्यालयका शिक्षकसमेत रहेका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्