
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा सुदुरपश्चिम प्रदेशले पहिलो जित दर्ता गरेको छ । सुदूरपश्चिम प्रदेशले बिहीबार कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो ।
१ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १९ दशमलब १ ओभरमा अलआउट हुँदै मात्र १ सय ६ रन जोड्न सक्यो ।
कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान गरे भने अर्जुन घर्तीले ३० रन जोडे । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
सुदुरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट हात पारे । हेमन्त धामीले दुई तथा आदित्य महता, गजेन्द्र बोहरा र विकास अग्रीले एक/एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५३ रन जोड्यो ।
सुदुरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रनको योगदान गरे । यस्तै, वसन्त कार्कीले २८ रन, दिपक बोहराले २५ तथा खडक बोहराले २२ रन बनाए
कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट हात पारे । यस्तै, रविन्द्र शाही र दिवान पुनले दुई/दुई तथा दिनेश अधिकारीले एक विकेट लिए ।
सुदूरपश्चिम पहिलो खेलमा पुलिससँग २ रनले पराजित भएको थियो । कर्णाली पहिलो खेलमा आर्मीसँग ६३ रनले पराजित भएको थियो । दोस्रो खेलमा कर्णालीले प्रदेश १ लाई ३१ रनले हराएको हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्