
इलाम । इलामको माईजोगमाई गाउँपालिका प्रविधिमैत्री भएको छ । गाउँपालिकाको प्रशासनिक र आर्थिक कारोबार पूर्ण रुपमा प्रविधिमार्फत गरिएसँगै माईजोगमाइ गाउँपालिका प्रविधिमैत्री गाउँपालिका भएको हो ।
हस्तलिखित र कागजको प्रयोगबाट हुँदै आएका सबैै काम अब इलामको माईजोगमाई गाँउपालिकाले प्रविधि मार्फत सुरु गरेको छ । प्रविधिमार्फत गरिएका काम पारदर्शी हुनुका साथै छिटो छरितो र केही त्रुटि भएको खण्डमा पनि चाँडो सच्याउन सकिने भएकाले जनताले लामो समय लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न गाँउपालिकाले यो प्रविधि संचालनमा ल्याएको हो । आर्थिक वर्ष २०७७/७८ बाटै गाउँपालिकाको पुरै काम कम्प्युटर र इन्टरनेटको प्रयोगबाट हुँदै आएको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले बताउनुभयो ।
पालिकाबाट सेवा दिने क्षेत्रहरुमा कम्प्युटर र प्रविधिमार्फत काम हुने गरेका छन् । प्रविधिमैत्री सरकार बनाउने नीति अनुसार गाँउपालिकाले यो कामको थालनी गरेको हो । हस्तलिखित तरिकाले काम हुँदा कागजपत्र एक शाखाबाट अर्को शाखामा सदर गर्न पुर्याउनुपर्ने बाध्यता थियो तर अहिले एक टेवलको कम्प्युटरबाटै सबै काम गर्न सकिने भएको छ । जसले गर्दा जनताले चाँडै सेवा लिन पाएका छन् ।
गाउँपालिकाले पहिलो चरणमा कर संकलनको काम प्रविधि मार्फत सुरु गरेको थियो । कर संकलन प्रणाली प्रविधिमार्फत भएपछि इ–हाजरी, जिन्सी, स्टोर दाखिला, दर्ता चलानी, सिफारिस, लेखाप्रणाली, स्वास्थ्य र शिक्षा शाखासँगै पालिकामा हुने सबै काम प्रविधिमार्फत हुँदै आएको छ ।
प्रमुख प्रशासकीय कार्यालयसँगै वडा कार्यालयमा पनि प्रविधिमार्फत काम गर्न इन्टरनेट सुविधाका लागि तीन कम्पनीसँग सम्झौता भएको छ । अनलाइन मार्फत काम गर्दा दैनिक कार्यप्रगति समेत हेर्न सकिने भएकाले दैनिक कार्ययोजना बनाउन पनि सहज भएको प्रमुख प्रशासकीय अधिकृत भागवतप्रसाद रेग्मीले बताउनुभयो ।
प्रविधिमार्फत हुने कामको अनुगमनका लागि कार्यालयले सिसि क्यामेरा सबै शाखा, वडा कार्यालय र प्रमुख प्रशासकीय भवनमा जडान गरिएको छ । कम्प्युटर र इन्टरनेटमार्फत हुने कामले गाउँपालिकाको चालु खर्चसमेत घटेको छ ।
प्रतिक्रिया दिनुहोस्