
काठमाडौं, पुस २९ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरलले व्यापारलाई विकाससँग जोड्नु पर्ने बताउनु भएको छ ।
सचिव पोखरेलले व्यापार विकासको माध्यम भएकोले व्यापारलाई विकाससँग जोड्नुपर्ने बताउनुभएको हो । उहाँले अहिले विश्व अर्थतन्त्र आफैंमा आत्मनिर्भर नभएको बताउनुभयो । सरकारले अहिले आयात गर्न बन्देज लगाएका सामानहरु आवश्यकता हेरेर आयातको लागि निर्णय गर्ने बताउनु भयो । उहाँले व्यापारलाई विकासको माध्यम बनाउन विकाससँग नजोड्ने किसिमले हेर्दा व्यापारको विस्तारको गन्तव्यमा नपुग्ने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले सरकारले लिएका खम्बे अर्थ नीति अनुसार अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले दुईपक्षीय व्यापार विस्तारको लागि सरकार, निजी क्षेत्र र सहकारी तीनवटै मिलेर गर्दा सफल हुने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल विश्वव्यापार संगठनसँग आवद्ध भएर पनि केही फाइदा लिन नसकेको बताउनुभयो । उहाँले विश्व व्यापार संगठनमा आवद्ध भएपनि नेपाली उद्योगमा भएका वस्तु अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन नसकेको बताउनुभयो । नेपालमा राजनीतिक परिर्वतनको कारण पनि उद्योगमा लगानी हुन नसकेको बताउनुभयो । उहाँले नेपाली अर्थतन्त्रको क्षमता ७ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने नभएको बताउँदै विगतमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशतको हाराहारीमा रहेको बताउनुभयो ।
अध्यक्ष गोल्छाले वस्तुको लागत कम गर्नको लागि सरकारले भन्सारसम्म रेल जोड्नु पर्ने बताउनुभयो । उहाँले लागत कम गर्ने उदेश्यले सरकारले काठमाडौंमा सुख्खा बन्दरगाह निर्माण गरेर पनि अहिलेसम्म सञ्चालनमा आउन नसकेकोप्रति गुनासो गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्