
ताप्लेजुङ, पुस २९ । ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ ।
समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ ।
हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । गत राति बाक्लो हिमपात भएको थियो । घुन्साका केल्साङ शेर्पाका अनुसार चिसोले बाहिर निस्कन समस्या भएको छ ।
चिसो बढेकाले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । घुन्साका टासीतेन्जी शेर्पाका अनुसार हिमपातका कारण पशुचौपाया बचाउन मुश्किल भएको छ । यस्तै फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला र याङमा बस्तीमा पनि बाक्लो हिमपात भएको स्थानीयवासी तेन्जी शेर्पाले बताउनुभयो ।
भले, ग्याप्ला तथा मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला र पापुङमा समेत हिमपात भएको मिक्वाखोला–६ का वडाध्यक्ष डन्डु शेर्पाले बताउनुभयो । पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ । यस वर्ष जिल्लामा पुस १३ र १४ गते पहिलोपटक हिमपात भएको थियो ।








प्रतिक्रिया दिनुहोस्