९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी, उडान अवतरण ठप्प, केहीलाई गर्नुपर्यो डाइभर्ट


0
Shares

काठमाडौं, माघ २७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी हुँदा उडान अवतरण ठप्प भएको छ भने केहीलाई अन्यत्र नै डाइभर्ट गर्नु परेको छ ।

विमानस्थलको प्रस्थानतर्फको भागमा रहेको कफी पसलमा आगलागी हुँदा केही समय विमानस्थल बन्द गर्नु परेको हो । जसका कारण विमान उडानमा अबरोध भएको छ भने केही विमानलाई आकाशबाटै अन्यत्रै मोड्नु परेको हो ।

विमानस्थल अधिकारीका अनुसार अध्यागमन पास गरेर जहाज चढ्न जानुअघि यात्रु बस्ने कोठासँगै जोडिएको कफीसपमा विद्युत सर्ट भई आगलागी भएको विमानस्थल प्रमुख देवेन्द्र केसीले जानकारी दिए ।

विमानस्थल बन्द भएपछि काठमाडौं विमानस्थलमा अवतरणका लागि आएका जहाज आकाशमै होल्डमा समेत राख्नु परेको हो । आगलागी नियन्त्रण भएपनि सुरक्षा जाँच नगरी उडान अवतरण गर्न नमिल्ने विमानस्थल अधिकारीहरुले बताएका छन् ।

आगो निभाउन चार वटा दमकल प्रयोग गर्नुपरेको थियो । आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ । क्षतिको विवरण आउन भने बाँकी छ ।

आगलागीका कारण सिंगापुरबाट आउँदै गरेका सिल्क एअरको जहाजलाई कलकत्ता डाइभर्ट गर्नु परेको र तीन जहाज आकाशमै होल्डमा राख्नु परेको थियो । प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीका अनुसार स्टराइल हलमा, बोर्डिङ गेट छेउमा रहेको कफी सपमा विद्युट सर्ट भएको हो ।