
काठमाडौं । हरेक चाडपर्व नजिकिएसँगै उपत्यकाका हरेक बसपार्कमा मानिसको भीडभाड हुनु सामान्य नै हो ।
कोभिड–१९ ओमिक्रोन भेरियन्ट महामारीको रूपमा फैलिरहँदा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु तथा सवारीचालक स्वास्थ्य मापदण्डप्रति संवेदनशील भएको पाइँदैन ।
संक्रमणको अत्यन्त खतरनाक मानिने लामो दूरीका सार्वजनिक यातायातले स्वास्थ्य मापदण्ड झनै पूरा गर्दैनन् ।
यद्यपि सवारी चालक भने स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना भएको दाबी गर्छन् । स्वास्थ्य मापदण्डका लागि सवारीमा मास्क र सेनिटाइजरको व्यवस्था गरिएको लामो दूरीका बस चलाउने एक चालकले बताए ।
संक्रमणबाट जोगिनकै लागि लामो दूरीका बसहरूमा सिट क्षमताभन्दा बढी यात्रु नराखेको टिकट विक्रेता बताउँछन् । यात्रुको सहजताका लागि सवारीमा मास्कको व्यवस्था गरेको र उनीहरूलाई तोकिएको भन्दा सस्तोमा टिकट बिक्री गरेको उनीहरूको भनाइ छ ।
तर, नयाँ बसपार्कमा देखिन दृश्यले स्वास्थ्य मापदण्डको पालना भएको देखिँदैन । भीडभाड बढेकै छ, यात्रुको मुखमा मास्क देखिँदैन । कोभिडको जोखिमबारे थाहा हुँदा–हुँदै पनि कतिपय यात्रुहरूले गरेको लापरबाहीबाट चालक तथा सहचालकहरू दिक्क छन् ।
कोरोनाका त्रास विश्वव्यापी रूपमा फैलिरहेको अवस्थामा स्वास्थ्य मापदण्ड ध्यानमा राखी बेलैमा सतर्कता अपनाउनु हामी सबैको जिम्मेवारी हो ।
आफ्नो लापरबाहीको कारण अरुलाई पनि संक्रमित बनाउनुभन्दा आफैँले स्वास्थ्य मापदण्ड पालना गरे महामारीबाट आफू बच्न र अरुलाई बचाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्