
काठमाडौं । आयोजक क्यामरुन अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको नक आउट चरणमा पुग्ने पहिलो टोली बनेको छ ।
गएराति भएको खेलमा इथियोपियालाई हराउँदै क्यामरुनले राउण्ड अफ सिक्सटिनमा स्थान सुरक्षित गरेको हो । इथियोपियाविरुद्धको खेलमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै क्यामरुन ४–१ ले विजयी भयो ।
खेलको चौथो मिनेटमै इथियोपियाका डावा होस्टेसा डुकेले गोल गरे । तर यसपछि क्यामरुनका लागि कार्ल टोको इकाम्बी र भिसेन्ट अबुबाकरले दुई दुई गोल गर्दै टोलीको जित पक्का गरे ।
जितपछि दुई खेलबाट ६ अंक जोडेको क्यामरुनले समुहमा अग्रता लिएको छ । इथोपियाले भने जित निकाल्न सकेको छैन ।
गएरातिको खेलमा केप भर्डेलाई १–० ले हराएको बुर्किना फासो ३ अंकसहित समुहको दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानको केप भर्डेको पनि ३ अंक नैं छ ।
अफ्रिका कपमा आज राति सेनेगल र गिनी, मलावी र जिम्बाबे तथा मोरक्को र कोमोरस भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्