
काठमाडौं, माघ २८ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरुद्धका कारण अवरुद्ध हुंदै आएको संसद बैठक आज सुचालु भएको छ ।
कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा पार्टी उपसभापति एवं संसदीय दलका उपनेता विजय कुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विरोधमा संसद अवरुद्ध गर्दै आएको थियो ।
यसअघि बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले संसद बैठकमा अवरोध नगर्ने निर्णय गरेको थियो । सिंहदरबारमा बसेको बैठकले ललिता निवास जग्गा प्रकरणलाई राजनीतिक मुद्दाको रुपमा लैजाने निर्णय गर्दै सदनको जारी अवरोध खोल्ने निर्णय गरेको हो ।
बैठकले प्रचलित कानून र संवैधानिक निकायको निष्पक्षता र स्वतन्त्रता नै कमजोर हुने गरी राजनीतिक पूर्वाग्रह भई उपसभापति एवं संसदीय दलका उपनेता विजय कुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको ठहर समेत गरेको छ । यही विषयलाई लिएर कांग्रेसले संसदमा लगातार अवरोध गर्दै आएको थियो ।
हिजो बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले पनि संसद अवरुद्ध नगर्ने निर्णय गरेको थियो । अख्तियारले बालुवाटार जग्गा प्रकरणमा गच्छदारलगायत १७५ जनाविरुद्ध विशेष अदालतमा यही माघ २२ गते मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्