१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्यटकको आवागमन बढेसँगै इलामको ग्रामीण क्षेत्रमा घरबास कार्यक्रम प्रभावकारी


390
Shares

इलाम । ग्रामीण पर्यटकको संख्या बढेसँगै इलामको रोङ गाउँपालिकामा होमस्टे कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

नेपाल र भारतका पर्यटकहरूको आवागमन बढेसँगै रोङ–६ को सलकपूर क्षेत्रमा घरबास कार्यक्रम सञ्चालनले स्थानीयको आयआर्जनमा समेत टेवा पुगेको छ । ग्रामीण रहनसहनमा रमाउने पर्यटकको संख्या बढेसँगै इलामको रोङ गाउँपालिका सलकपूरमा घरबास कार्यक्रम फस्टाएको छ ।

नेपाल र भारतका पर्यटकहरूको आवागमन बढेसँगै रोङ–६ को सलकपूर क्षेत्रमा धमाधम होमस्टे खुल्न थालेका छन् । पर्यटन फस्टाएको सलकपूर क्षेत्रमा रात बिताउन चाहने पर्यटकको संख्या बढेपछि स्थानीयले घरबास कार्यक्रमसमेत शुरु गर्न थालेका छन् ।

किसानले घरका दुई कोठाहरूलाई आवासको व्यवस्था गरी घरबास कार्यक्रम होमस्टेको व्यवस्थापन गर्दै आएका छन् । गाउँघरमा उत्पादन हुने उत्पादनको परिकार पाइने भएकाले अहिले घरबास कार्यक्रममा पर्यटकहरू पनि लोभिएका छन् ।

छिमेकी भारत र नेपालको तराईका जिल्लाबाट सलकपूर क्षेत्रको भ्रमणमा पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ । सलकपूर क्षेत्रसँगै रोङ गाउँपालिका ६ देखि रोङ ३ को हाँसपोखरीसम्म पदमार्ग निर्माण भएपछि घरबासमा पुग्ने पर्यटकहरु संख्या बढेको हो ।

तराईबाट छोटो दूरीमा पुग्न सकिने निन्दा सिरान हाँसपोखरी पदमार्गमा पुग्ने पर्यटकहरू संख्या बढेसँगै होमस्टे सञ्चालनका सिप प्रदान गरिँदै आएको रोङ ६ का अध्यक्ष मणिकुमार स्याङ्बोले बताउनुभयो । रोङ गाउँपालिका र कारितास नेपालको समन्वयमा घरबास कार्यक्रम होमस्टेको सीप किसानलाई हस्तान्तरण हुँदै आएको छ ।

पर्यटकहरु आवातजावत बढे पनि ठूला लगानीकर्ताले लगानी गर्न नसकेको ग्रामीण पर्यटनमा स्थानीयबासी आफैं सक्रिय भएर होमस्टे सञ्चालन गर्दै आएका हुन् ।

२९ किलोमिटर लामो पदमार्गमध्ये ६ वटा, पोइन्टमा होमस्टेको विकास गर्ने गाउँपालिकाको योजना रहेको छ । होमस्टे सञ्चालन भएपछि स्थानीयवासीको आयआर्जनमा समेत वृद्धि हुँदै आएको हो ।