
दाङ । माघी थारु समूदायको मुख्य पर्व हो । उनीहरूले माघी पर्वलाई नयाँ वर्षको रुपमा धुमधामसंग मनाउने गर्दछन् । नयाँ काम गर्न, विवाह गर्न, अंशबन्डालगायतका कामको सुरुवात गर्ने शुभसाईतको रुपमा पनि उनीहरुले यो पर्वलाई लिने गरेका छन् ।
माघीसंगै दाङको शान्तिनगर–५ को थारू गाउँमा यति बेला निकै चहलपहल बढेको देखिन्छ । चहलपहल केहि देखिए पनि तर पहिलाको जस्तो रौनक भने नहुने थारूका पुराना पुस्ताहरूको अनुभव छ । अहिलेका पुस्ताले आफ्नो कला, संस्कृति र संस्कार भुल्दै गएकोमा आफ्नो संस्कृति लोप हुने चिन्ता पनि छ उनीहरुलाई । माघी पर्वमा गाइने र नाचिने नाच पनि लोप हुँदै गएको उनीहरूको बुझाइ छ ।
पुराना पुस्तालाई मात्र नभई युवा पुस्तालाई पनि आफ्नो कला संस्कृति हराउँदै गएको थाहा त छ तर, यसको जर्गेना गर्न पनि उनीहरु त्यति उत्साहित छैनन् । आफ्नो कला संस्कृति जोगाउनका लागि गाउँमै बस्ने युवाहरु त लागेका छन् तर, गाउँबाट शहर गएका युृवाहरुले यता तिर ध्यान नदिँदा यसको संरक्षण हुन सकेको छैन् ।
पछिल्लो समय भने यो समुदायका युवाहरू आफ्नो कला संस्कृति संरक्षण गर्न लागि परेका छन् । यसमा स्थानीय सरकारले पनि साथ दिँदै आएको शान्तिनगर–५ का वडाध्यक्ष गिरिराज बस्नेतले बताउनु भयो ।
थारुहरुको आप्mनै मौलिकता भएको माघी पर्व विशेषगरि दाङलगायत बाँके, बर्दिया, कैलाली जिल्लाहरुमा भव्य रुपमा मनाउने चलन छ । तर, पछिल्लो पुस्ताले चासो नदिँदा र पश्चिमा कला संस्कृतिको अनुशरणले मौलिकता लोप हुने खतरा छ । त्यसैले आफ्नो संस्कृति जोगाउनको लागि सबैभन्दा पहिले थारु समूदायका युवाहरु आफै जागरुक हुनु पर्ने देखिन्छ । नत्र थारु संस्कृति बिस्तारै लोप नहोला भन्न सकिन्न ।
प्रतिक्रिया दिनुहोस्