
इलाम । रोपेको दुई वर्षदेखि घाँससँगै कुचो उत्पादन हुने अम्रिसोको मूल्य बिगतको तुलनामा यस वर्ष दोब्बर भएपछि इलामका किसान खुसी भएका छन् ।
हेरचाह र मेहेनत कम पर्ने अम्रिसोको गाई भैंसीको लागि मुख्य घाँसको रुपमा प्रयोगसँगै फुल कुचोको रुपमा प्रयोग हुन्छ ।
विगतका वर्षहरूको तुलनामा यस वर्ष कुचो (अम्लिसो) को भाउ बढेपछि किसान औधी रमाएका छन् । उनीहरु अहिले अम्लिसो थुतेर बजारसम्म पुर्याउन थालेका हुन् ।
मध्यपहाडी क्षेत्रमा उत्पादन हुने कुचोको ठूलो परिमाणमा भारत निर्यात हुन्छ । नेपाली उत्पादन भए पनि भारतीय व्यवसायीले राखेको भाउमा नेपाली व्यवसायी चल्नुपर्छ ।
भाउ अस्थिर हुनाले किसानले अधिकतम मूल्य पाउनकै लागि अहिले नै बजार पु¥याउन थालेका हुन् । वस्तुको मूल्य किसानको हातमा नरहेकाले कृषिजन्य उत्पादनको भाउमा उतारचढाव हुने गरेको छ । गत वर्ष प्रतिकिलो ९० को हाराहारी भाउ रहेकामा यस वर्ष प्रतिकिलो १५० सम्ममा किनबेच भइरहदा किसान खुसी बनेका छन् ।
सिजनको सुरुमा एक सय ७० रहेको कुचोको मुल्य अहिले १ सय ४० मा बिक्री भइरहेको छ । कुचोको भाउ स्थिर नभए पनि यस वर्ष विगतमा जस्तो अत्यन्तै कम हुने सम्भावना रहेको छैन ।
नेपालबाट जाने कुचोको ठूलो परिमाण भारतमै खपत हुन्छ । यसैले पनि यस वर्ष कुचोको माग बढी रहेकाले भाउ अझै बढ्ने व्यवसयायीको भनाइ छ ।
कुचोको प्रयोग घर बढार्नका लागि मात्र भए पनि अनिवार्य वस्तुमा पर्छ । ग्रामीण भेगमा घाँसको रूपमा प्रयोग हुने अम्लिसोको फल नै कुचो हो । देशभित्र पनि कुचोको खपत हुन्छ ।
तर, उल्लेखिय भाउ पाउने आसमा किसानले बाहिर निकासी गर्ने व्यवसायीलाई कुचो बेच्ने गरेका छन् । यहाँका किसानले पुसको मध्यमबाट माघ अन्तिमसम्ममा अम्लिसो थुत्ने गर्दछन् । यसपछि सुकेपछि बेच्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्