भ्रष्टाचारीलाई डोकाले छोप्ने नेकपा र बोकेर हिंड्ने कांग्रेसका चित्र र चरित्र

news

राजन कुईंकेल

२०४६ सालमा पञ्चायत व्यवस्था मिल्काएयता राजा ज्ञानेन्द्रले शासन र प्रभाव पारेको चार वर्षलाई छाड्ने हो भने २५ वर्ष मुलुकमा नेपाली कांग्रेस र नेकपा (एमाले/माओवादी)ले नै मिलेर सत्ताभोग गरेका छन् ।

वर्ष, महिना र दिनहरु गन्तीमा कस्ले घटिबढी गरे त्यो जसलाई चाहिन्छ उसले हिसाब गरुन् । तर २०४६ को जनआन्दोलनताका र २०४८ सालको आमनिर्वाचनमा भोट माग्न जनताका बीचमा पुग्दा दलका नेताहरुको हैसियत, जीवनस्तर र आहारविहार कस्तो थियो भन्ने म बबुराले त झल्झल्ती देखेको थियो भने अझै मभन्दा अग्रजहरुले त खेपेकै/व्यहोरेकै विषय हो ।

हेर्दाहेर्दै यो अढाई दशकमा कांग्रेस र नेकपाका तिनै चप्पल पड्काएर हिंड्ने नेताहरुको आर्थिक, सामाजिक हैसियत परिवर्तन भएर कसरी नवधनाढ्य वर्गमा परिणत भए भन्ने बुझ्न कुनै अनुसन्धान वा पिएचडी गरिरहनु पर्दैन ।

ती नेता मात्र होइन तिनलाई सुमेरु पर्वत मानेर प्रदक्षिणा गर्ने तिनका आफन्त, अनुचर र आसेपासेहरुको जीवनशैली हेर्दा पुग्छ राज्य कोषमाथि कसरी ब्रह्मलूट मच्चाइएको छ । बिना परिश्रम, उद्यम, बन्द व्यापार, लगानी यो वर्ग कसरी रातारात नवधनाढ्य वर्गमा परिणत भयो ? कसरी यिनैको लाक पाएर जनताले तिरेको करबाट पालिएका कर्मचारीहरुले मुलुकको ढुकुटी लूटे ? कसरी नेता, दलाल, बिचौलिया, घूषखोर, भ्रष्टाचारी, माफियाका बीचमा आन्द्रा जोडिए ? यो जनताले आफ्नै अगाडि देखिरहेका छन् ।

कतिले बोल्न सक्लान् । कतिमा आश र त्रासको त्यान्द्रोले सत्य ओकल्ने साहस नहोला । तर तथ्य र सत्य त दुनीयाँको अघिल्तिर छर्लङ्गै छ । टालेको/छोपेर हिंडेको छु भन्ने ति पात्रहरुको कुकृत्यले डामेका अंग प्रत्यंग ह्वाङ्गै छ ।

फरक कति हो भने कांग्रेस भन्ने पार्टीमा ह्वाङ्गै बनाएर खाने शैली देखियो । नेकपा भन्नेहरुले कम्मलले ओढेर घ्यू खाने तरिका जानेको रहेछन् । टुँडिखेलबाट एक नम्बरको भ्रष्टचारी घोषणा गर्दा पनि, शिविरकाण्डमा अरर्बौ अरब कुम्ल्याउँदा पनि, सांसद किनबेचमा प्रत्यक्ष लागेको देख्दा पनि, विमानदेखि, राज्यको प्राकृतिक स्रोत साधन नै पच्काउँदा पनि उनीहरु बच्न सिपालु रहेछन् ।

ऐन मौकामा अनुसन्धानकारी/नियमनकारी निकाय र दण्डाधिकारीमा आफू समर्थकलाई नियुक्त गर्दा त्यसले गुन तिर्छ भन्ने ज्ञान रहेछ । कर्मचारीसमेत इतर पार्टीका नेता मन्त्री भएर आएका बेला गरेका भ्रष्टाचारका सुराकहरुलाई कसरी प्रमाणका रुपमा जोगाउने भन्नेमा प्रशिक्षित रहेछन् । हुस्सु कांग्रेसमा यो शैली देखिएन । त्यसैले त कांग्रेसको नेतृत्व आफू जोगिन बारम्बार आफ्नै बन्धुको बली चढाउँदै गएको छ ।

अर्कातिर विधि र कानुनको पक्षमा रहेको बताउने कांग्रेस नेतृत्वले भ्रष्टाचारमा आरोपितहरुलाई जोगाउन भन्दै सडकदेखि सदनसम्ममा रडाको मच्चाएर जग हँसाउनुले आफैलाई लज्जित बनाउँदै छ । कांग्रेसले जति बोके पनि भ्रष्टाचारमा डामिएका खुमबहादुर खड्का, चिरिञ्जीवी वाग्ले, जेपी गुप्ता, गोविन्दराज जोशीलाई जोगाउन सकेन । अहिले विजय गच्छदारको हकमा पनि कांग्रेसको उही गति हुनेछ ।

बरु सत्य के हो भने जे जस्ता तिकडम र छिर्के हानेर आफ्ना नेतालाई नेकपाले अख्तियारको मुखमा पर्नबाट जोगाए पनि जनताको अघिल्तिर तिनीहरु सबै डोकाले छोपेका कुखुराझै छर्लङ्गै छन् । कांग्रेस भ्रष्टाचार आरोपितलाई कानुनी कठघरामा जँचिन दिएर निर्दोष भए इज्जतपूर्वक सफाई पाउने बाटोसमेत रोक्न खोज्दै छ । महादेवले सतिदेवीको शवलाई बोकेर हिँडेझै कांग्रेसले भ्रष्टाचार आरोपितलाई काँध थापेर हिड्नुभन्दा कानुनी कठघरामा खरो उत्रन प्रोत्साहित गर्नुपर्छ ।

नबिराउनु नडराउनु । तपाईले अँगार खानु भएको छैन भने कालो आउँला भनेर किन आत्तिने ? हैन अँगार खाएकै हो भने जुन तर्क तेस्र्याएपनि कुनै काम लाग्ने छैन ।  आफ्नो खुट्टामा आफैले बन्चरो हान्ने काम नगरोस् कांग्रेस ।

अब मूल दायित्वचाहिं जनतामा आएको छ । त्यस्ता पार्टी र तिनका नेतालाई चोक, गल्ली र चौतारामा प्रश्न गर्ने सामथ्र्य प्रत्येक नागरिकले गर्न सक्नुपर्छ । होइन भने नागरिकताको प्रमाणपत्र भिरेकै भरमा कोही पनि रैतीको दर्जाबाट माथि उक्लन सक्दैन । दलीय र नेता विशेषको दासताबाट मुक्त हुन नसक्ने हो भने यो देश भ्रष्टाचारको चंगुलबाट न त उम्कन सक्नेछ । न त देशको शासकीय शैली नै फेरिने छ । परिवर्तन भैहालेछ भने रातो टोपी लगाएर लूट्नेहरुको स्थानमा हरियो टोपी लगाएर डकैती गर्नेहरु पुग्नेसम्म हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...