२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विवादित विषयहरुबाट संस्थालाई जोगाउने महासंघको संकल्प


65
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघले विवादित विषयहरूबाट संस्थालाई जोगाउने संकल्प गरेको छ ।

कपिलवस्तुको तिलौराकोटमा बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले मिडिया अवार्डलगायतका विषयहरुमा गम्भीरतापूर्वक समीक्षा गर्दै विवादित विषयहरुबाट महासंघलाई जोगाएर अघि बढ्ने संकल्प गरेको महासचिव रोसन पुरीले जानकारी दिनुभयो ।

केही दिनअघि काठमाडौंको तारे होटलमा भएको मिडिया अवार्डमा नेपाल पत्रकार महासंघलाई मुछिएको र त्यसका लागि तीन लाख रुपैयाँ लिएको विषयमा चर्चा पाएको थियो । मिडिया अवार्डको नाममा पैसाको खेल खेलेको आरोप महासंघमाथि लाग्दै आएको छ ।

बैठकले प्रेस स्वतन्त्रता र पेशागत असुरक्षाको घटनाक्रम बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै सरोकारवाला पक्षसँग प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि माग गर्ने निर्णय गरेको छ । सरकारले बनाउन लागेको कानुन प्रेस स्वतन्त्रतामैत्री बनाउन पनि महासंघले आग्रह गर्ने भएको छ ।

प्रतिनिधिसभामा लामो समयदेखि जारी अवरोध हटाएर आसञ्चार नीतिक कार्यान्वयनका लागि संसद अवरोध तत्काल अन्त्य गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने निर्णय पनि महासंघले गरेको छ । सर्वोच्च अदालतमा देखिएको अवरोधप्रति पनि ध्यानाकर्षण भएको जनाउँदै महासंघले गतिरोध अन्त्यका लागि गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

महासंघले कोरोनाको प्रभाव र त्यसले सञ्चार क्षेत्रमा पारको असरको सन्दर्भमा पनि छलफल गर्दै पत्रकार निस्कासनको विषयमा पनि सशक्त ढंगले आवाज उठाउने भएको छ । महासंघले गरेका बाँकी यस्तो छ ।