२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


‘सेल्सबेरी’मा नेपाली उत्पादनहरूको पनि स्टल


585
Shares

काठमाडौं । सेल्सबेरी डिमार्टमेन्ट स्टोरले नेपाली उत्पादनहरूको स्टल पनि सञ्चालनमा ल्याएको छ ।

डिपार्टमेन्टले ललितपुरको सातदोबाटोस्थित डिमार्टमेन्टमा एक कार्यक्रमको आयोजना गरी ‘मेड इन नेपाल’ नाम दिइएको नेपाली उत्पादनहरूको २० वटा स्टल शनिबारबाट सञ्चालनमा ल्याइएको जानकारी गराएको हो ।

काठमाडौंको बत्तिसपुतली, महाराजगंज, पोखराको चिप्लेढुंगा, शान्ति नगर, लेकसाइडमा पनि सो सेवा एकसाथ संचालनमा ल्याइएको सो डिमार्टमेन्टका संस्थापक सुशील प्रधानाङ्गले जानकारी दिनुभयाे ।

उहाँले नेपाली वस्तुहरूको बजारीकरणका लागि आफूले संचालनमा ल्याएको डिमार्टमेन्ट स्टोरहरूमा सो स्टलको सेवालाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयाे । प्रधानाङ्गले नेपाली उत्पादन पनि विश्व बजारका लागि उत्तिकै महत्वपूर्ण छ भनेर देखाउन सो स्टल उपयोगी हुने स्पष्ट पार्नुभयाे ।

२ महिनासम्म सञ्चालनमा रहने सो स्टलमा नेपालका घरेलु उद्योगहरूले उत्पादन गरेका बिस्कुट, चिया, अदुवा, मह, कस्मेटिकसहितका सामानहरू छन् । नेपालका २० वटा कम्पनी र त्यसमा पनि घरेलु उद्योगका सामानहरूलाई उच्च प्राथमिकताका साथ स्टलमा राखिएको पनि सो डिमार्टमेन्ट स्टोरले जनाएको छ ।

नेपाललाई आत्मनिर्भर बनाउने बाटोमा लैजान सो स्टलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले बताउनुभयाे । स्टलले नेपाली वस्तुको विश्व बजारमा प्रचार हुने तथा स्वदेशमै रोजगारी सिर्जना हुने र राजस्वमा पनि वृद्धि हुने उहाँले स्पष्ट पार्नुभयाे ।

महानिर्देशक श्रेष्ठले नेपाली वस्तुहरू पनि गुणस्तरको छन् भन्ने बुझाउन पनि सो स्टलले उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयाे ।