१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ईमेजले मनायो २५औं वार्षिकोत्सव, फागुनदेखि नयाँ रियालिटी शो आउँदै


182
Shares

काठमाडौं । २५औं वर्षमा प्रवेश गरेको अवसरमा ईमेज टेलिभिजनले वार्षिकोत्सव मनाएको छ ।

सहकर्मीहरूबीच कार्यालय परिसरमा भएको कार्यक्रममा ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष तथा प्रबन्ध निर्देशक आरके मानन्धरले स्थापना कालदेखि अहिलेसम्म संस्थाले तटस्थ र सन्तुलित भूमिका निर्वाह गरेको त्यसलाई निरन्तरता दिइने बताउनुभयो ।

उहाँले ईमेजलाई यो अवस्थामा ल्याउन दर्शक, विज्ञापनदाता र सहकर्मीहरुले निभाएको गुण अविस्मरणीय रहेको बताउनुभयो ।

अध्यक्ष मानन्धरले डेढ घण्टाको समय लिएर नेपाल टेलिभिजनबाट सुरु ईमेज यात्रा २५ वर्ष पुगेको र यसलाई थप विविधिकरण गरी अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाली संगीतको प्रवर्द्धनमा ईमेजले महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै उहाँले टेलिभिजनको जग त्यहीँबाट खनिएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत डा. महेन्द्र विष्टले प्रतिस्पर्धाको समयमा आइपर्ने चुनौतिको सामना गर्दै अघि बढ्न इमेज च्यानल सक्षम रहेको बताउनुभयो ।

आम्दानीका स्रोत तथा क्षेत्रहरू संकुचित हुँदै जाने तर प्रतिस्पर्धाको दायरा बढ्दै जाँदा स्पष्ट उद्धेश्य र पारदर्शीता नभएका लगानीले मिडियाको अस्तित्वमाथि संकट उत्पन्न भएको उहाँकाे भनाइ छ ।

अब यथास्थितिमा चल्ने छूट नभएको भन्दै विष्टले अब आफैंसँग प्रतिस्पर्धा गरेर अघि बढ्नुपर्नेमा जाेड दिनुभयाे ।

संस्थाका विश्वसनीय समाचार, सन्तुलित विचार र स्वस्थ मनोरञ्जनका साथ अघि बढिरहेको ईमेज च्यानलले आगामी फागुनको पहिलो साताबाट नयाँ रियालिटी सो ‘नेपाल सिङ्गिङ्ग स्टार’ प्रसारण गर्दैछ भने अपराधसँग सम्बन्धित शाे पनि शीघ्र प्रसारणमा ल्याउँदैछ ।