
काठमाडौं, माघ २ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोलले हराउँदै मछिन्द्र विजयी भएको हो ।
मछिन्द्रका लागि विमल घर्ति मगरले दुई गोल तथा रेजिन सुब्बा र अविशेक रिजालले एक–एक गोल गरेका थिए । यो जितसँगै मछिन्द्र क्लब ९ खेलबाट २३ अंकका साथ शीर्षस्थानमा यथावत छ । मछिन्द्रले दोस्रो स्थानको मनाङ मस्र्याङ्दीसँग ४ अंकको अग्रता बनाएको छ । पराजित भएको ब्रिगेड ब्वाइज ९ खेलबाट ६ अंक जोडेर १२औँ स्थानमा छ ।
यस्तै आजै अपराह्न पौने ५ बजे हुने खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोली आजको खेलमा जित निकाल्दै अंक तालिकामा सुधार ल्याउने योजनामा छन् ।
जारी लिगमा पुलिस ८ खेलबाट ७ अंकका साथ ११औँ स्थानमा छ भने ५ अंक जोडेको च्यासल १३औँ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्