११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


विद्यार्थी नहुदा बागलुङका ६ वटा सामुदायिक विद्यालय समायोजन


0
Shares

तारानाथ आचार्य (रासस)

बलेवा, माघ २९ । विद्यालयमा पढ्न आउने विद्यार्थी संख्या कम भएपछि बागलुङ नगरपालिकाले गत आर्थिक वर्षमा ६ वटा सामुदायिक विद्यालय समायोजन भएका छन् ।

सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या कम तर शिक्षकको दरबन्दी बढिरहेका कारण अनावश्यक व्ययभार परेको भन्दै नगरपालिकाले गत आर्थिक वर्षमा छवटा विद्यालयलाई समायोजन गरेका हुन् ।

विद्यार्थी सङ्ख्या कम हुँदाहुँदै पनि चलिरहेका विद्यालय शिक्षा ऐनमा व्यवस्था भएअनुसार अर्को विद्यालयमा समायोजन हुन नमानेपछि घुमाउरो तरिकाबाट विद्यालयलाई समायोजन गरिएको हो ।क्षकको दरबन्दी मिलान र ती छवटा विद्यालयमा रहेका विद्यार्थीलाई अर्को नजीकैको विद्यालयमा पठाएर नगर शिक्षा शाखा व्ययभार कम गर्ने प्रयास थालेको थियो ।

सामुदायिक विद्यालयमा यो बागलुङ नगरपालिकाको मात्रै समस्या होइन, जिल्लाका दशवटै स्थानीय तहमा विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको सङ्ख्या धेरै छ । पालिकाले विद्यार्थी, शिक्षक र विद्यालय नै व्यवस्थापनमा आ–आफ्नो हिसाबले योजना बनाएर लागिरहेका छन् ।

सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या कम हुनुको मुख्य कारण हो बसाइँसराइ र बगे्रल्ती खुलेका संस्थागत विद्यालय । अभिभावकको अङ्ग्रेजी मोह र अङ्ग्रेजी माध्यममा पठनपाठन गराउन खुलेका संस्थागत विद्यालयमा निकै प्रतिस्पर्धा छ ।

कल्पना गर्नुस् संस्थागत विद्यालय बन्द हुने वा समायोजन हुनेभन्दा धेरै फुट्ने र खुल्ने प्रक्रियामा देखिने गरेका छन् । तर सदरमुकाममा रहेका दुई संस्थागत विद्यालयले भने अस्वस्थ्य प्रतिस्पर्धाका कारण विद्यालय नै धराशयी हुने अवस्थामा पुग्ने भन्दै समायोजन भएका छन् ।

सदरमुकाममा रहेको अमृत आदर्श आवासीय मावि र अमर आदर्श विद्यामन्दिर आवासीय मावि समायोजन भएका हुन् । दुवै विद्यालय समायोजन भएर अमृत आदर्श एकेडेमी बनेको एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष मेहेशचन्द्र प्रधानले बताए ।

“हामीले अस्वस्थ प्रतिस्पर्धाको अन्त्य र शिक्षामा गुणस्तर वृद्धिका लागि जिल्लामै पहिलो कदम उठायौँ”, अध्यक्ष प्रधानले भन्नुभयो, “शिक्षामा परिवर्तनका लागि विद्यालय मर्जिङ गरिएको हो ।”

अमृतमा रहेका ३ सय २५ र आदर्श विद्यामन्दिरमा रहेका ४ सय २९ जना विद्यार्थीलाई माघ १६ गतेदेखि एकै ठाउँमा राखेर पठनपाठन थालिएको छ । विद्यालयका लेखापाल रामप्रसाद घिमिरेका अनुसार कक्षा एकभन्दा तल्लो तहका विद्यार्थीलाई एकै ठाउँमा पठनपाठन शुरु भइसकेको छ भने कक्षा १ भन्दा माथिका विद्यार्थीलाई पहिलेकै विद्यालयको हिसाबमा सेक्शनमा राखेर अध्यापन भइरहेको छ ।

नयाँ शैक्षिक सत्रदेखि एकै ठाउँमा पठनपाठन हुने उनले बताए । दुवै विद्यालयका ४६ जना शिक्षक कर्मचारी पनि समायोजन भएका छन् । संस्थागत विद्यालयले समायोजन गर्दा सम्बन्धित पालिकाको शिक्षा शाखामा जानकारी गराउनुपर्ने व्यवस्था रहेको भए पनि बागलुङ नगरपालिकाको शिक्षा शाखाले भने औपचारिक जानकारी नआएको जनाएको छ ।

“विद्यालयहरु मर्जिङ हुने मौखिक हल्ला सुनिएको छ तर आधिकारिक जानकारी आएको छैन”, शिक्षा अधिकृत गौरव राना मगरले भने, “प्रक्रिया पूरा गरेर मात्रै समायोजन हुन पाइन्छ ।” दीर्घकालीन योजना बिना खुलेका विद्यालयलाई चलाउनु चुनौतीपूर्ण रहेकाले संस्थागत विद्यालय पनि समायोजनको चरणमा पुगेको उनको प्रतिक्रिया थियो । प्रतिस्पर्धी विद्यालयको सङ्ख्या धेरै भएपछि जिल्लाका विभिन्न स्थानमा रहेका अन्य संस्थागत विद्यालयसमेत सङ्कटग्रस्त अवस्थामा रहेको जानकारहरु बताउँछन् ।

स्थानीय सरकार गठनसँगै बनेका पालिका मुकामहरुमा खुलेका निजी विद्यालय पनि साबिक सदरमुकामका निजी विद्यालयको चुनौतीका रुपमा खडा भएका छन् । अर्कोतर्फ स्थानीय सरकारको मातहतमा आएपछि सामुदायिक विद्यालयमा भइरहेको सुधारले पनि संस्थागत विद्यालयलाई असर पु¥याएको अधिकृत राना मगरले  बताए ।

“अभिभावक गुणस्तरको खोजीमा हुनुहुन्छ, हाम्रा सामुदायिक विद्यालय पनि सुध्रिएका छन्”, उनले भने, “सामुदायिक जस्तै संस्थागत विद्यालय पनि समायोजन हुनु र परिमार्जित हुनु आवश्यक छ ।”

बागलुङ नगरपालिकाले थालेको सामुदायिक विद्यालय सुधार अभियानका क्रममा गत वर्ष नै बागलुङ नगरपालिका–६ मा रहेको एक संस्थागत विद्यालय बन्द नै भएको थियो । स्थानीय लहरेपीपल माविमा सबै विद्यार्थी गएकाले उक्त विद्यालय बन्द भएको वडाध्यक्ष खिमराज सापकोटाले बताए ।