३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


चिसो बढेसँगै चितवनको ईच्छाकामनाका चेपाङ बालबालिका विद्यालय जानबाट बञ्चित


221
Shares

चितवन । चितवन नाम सुन्नासाथ सुगम जिल्लाको पहिचान झल्किन्छ । तर यहि जिल्लाको ईच्छाकामना गाउँपालिका–१ का चेपाङहरु जाडोमा न्यानो कपडा नहुँदा पढाइबाट बन्चित हुनुपरेको छ । परिवारको कमजोर आर्थिक अवस्था र सहयोगीहरु नहुँदा जाडो हुने महिनाहरुमा उनीहरुले विद्यालय छाड्नु परेको हो ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्वर १ मा रहेको एक मात्रै माध्यामिक विद्यालय राष्ट्रिय माध्यामिक विद्यालयमा ३५० बढी विद्यार्थी छन्, जसमा ९० प्रतिशत भन्दा बढी चेपाङ बालवालिका अध्ययन गर्दै आएका छन् । तर, जाडो बढेसँगै चेपाङ वालवालिका र कमजोर आर्थिक अवस्थाका विद्यार्थी विद्यालयनै आउँदैनन् । जाडोमा न्यायो बनाउने कपडा शरिरमा नहुँदा विद्यालय छोड्ने गरेको भन्दै दुःख पोख्नुहुन्छ विद्यालयका प्रधानाध्यापक लोक बहादुर मगर ।

चेपाङहरुले पछिल्लो समय बालबालिकालाई विद्यालय पढाउन भने थालेका छन् । तर जव मौसमले चिसो सिरेठो हान्न थाल्छ , तर हरमा एक जोर मात्रै कपडा हुने उनीहरु घरकै अगेनो छाड्न सक्दैनन् । पढ्न पाउने अधिकारबाट बन्चित हुनु परिरहेको छ । केही हुनेहरुले पछ्यौरा ओढाएर विद्यालय पठाउने गरेको बताउनुहुन्छ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्मबहादुर चेपाङ ।

हुन त विभिन्न समाचार र आग्रहपछि सहयोग नै नआउने भने होइन । तर, सहयोग गर्नेहरुले पनि न्यानो कपडाको पुरै सेट सहयोग नदिँदा त्यसको फाइदा कम भएको बताउनुहुन्छ विद्यार्थी किनारा पुरी । जाडो लागेसँगै चेपाङ सहकर्मीबाट छुटिनुपर्दा उहाँलाई पनि नरमाइलो लाग्ने गर्दछ ।

घाम लाग्छ, विद्यालय जान्छन् । जव धुमिन्छ घरै बस्छन् । हात्तीवाङमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयको नियती अहिले मात्र होइन वर्षौँदेखि यसरी नै चल्दै आएको छ । सधैँ सहयोगीहरुको भर पर्नुभन्दा आर्थिक अवस्था कमजोर हुने जनतालाई सरकारले नै विशेष कार्यक्रम ल्याएर विद्यालय छोडनुपर्ने वाध्यताको अन्त्य गरिदिनुपर्दछ ।