१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परासी र सुनवलका औद्योगिक ग्राहकलाई विद्युत् आपूर्ति सहज हुने


234
Shares

काठमाडौं । नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले व्योर्हाेदै आएको विद्युत् आपूर्तिको समस्या अब भने समाधान भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।

दुवै प्रसारण लाइन सञ्चालनमा आएसँगै परासी र सुनवल औद्योगिक क्षेत्रका विद्युत् आपूर्ति समस्या समाधान भई उद्योगलाई मागअनुसार विद्युत् दिन सकिने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

सुनवल क्षेत्रमा सञ्चालित उद्योगलाई विद्युत आपूर्तिका लागि १३२/३३ केभी सुनवल सबस्टेसन निर्माणाधीन छ, सबस्ेटसनको निर्माण आगामी चैत/वैशाखभित्रमा सकिने छ । त्यसपछि त्यहाँबाट थप ९० मेगावाट विद्युत् उद्योगलाई दिन सकिन्छ भने आपूर्ति पनि अझै विश्वसनीय र गुणस्तरीय हुने छ ।

केही महिनाअघि त्यस क्षेत्रको भ्रमण गरी घिसिङले सुनवल क्षेत्रका उद्योगलाई लक्षित गरी बुटवल–ज्यामिरे प्रसारण लाइन तत्काल निर्माण अगाडि बढाउन प्राधिकरण प्रादेशिक कार्यालय, बुटवल र बुटवल ग्रिड महाशाखालाई निर्देशन दिनुभएको थियो ।

१९ किलोमिटर सिङ्गल सर्किट प्रसारण लाइनको निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याइएको प्रादेशिक कार्यालय बुटवलले जनाएको छ ।

सुनवल क्षेत्रमा लक्ष्मी स्टिल्स्, पाल्पा सिमेन्ट, सर्वोत्तम सिमेन्टलगायतका उद्योग सञ्चालित छन् । ती उद्योगले आफ्नो क्षमता वृद्धिका लागि थप विद्युत् माग गरेका छन् भने त्यस क्षेत्रमा अन्य नयाँ उद्योग खुल्ने क्रममा रहेका छन् ।