१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिँगारियो पाल्पाको ऐतिहासिक रानीमहल


2.21k
Shares

पाल्पा । प्रेमको प्रतिक पाल्पाको रानीमहल दरवार अहिले सिँगारिएको छ । जंगल, झाडी र फोहोरले भरिएको रानीमहल दरवार तीन महिनाको अवधिमा अहिले सफा र सुन्दर भएको छ ।

प्रेमको प्रतिक मानिने पाल्पाको रानीमहल दरवारलाई अहिले सफा सुन्दर बनाइ सिंगारिएको छ । कोभिड– १९ का कारण महल कुरुप बन्न पुगेको थियो । जंगल, झाडी तथा फोहोरले भरिएको रानीमहल दरवार गएको तीन महिनामा सफा, सुन्दर चिटिक्क बनेको छ । तानसेन नगरपालिकाले रानीमहलमा २४ सै घण्टा पर्यटकीय गतिविधि बढाउन रातीमा हेर्न मिल्ने गरी विशेष पुर्वाधारको व्यवस्था गरेको छ ।

दरवारको पूर्ण सरसफाई गरी भित्र, बाहिर, बगैंचा, परिसर वरिपरी नै विशेष किसिमका लाइटहरु जडान गरी रातीमा हेर्न मिल्ने गरी दरवारलाई दुलही जस्तै सिंगारिएको छ । रानीमहल दरवारलाई सुन्दर आर्कषक र पर्यटनमैत्री बनाउन तानसेन नगरपालिकाले थप आवश्यक पुर्वाधारहरुको निर्माण गरेको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताउनु भयो ।

दिउँसो भन्दा रातीको सुन्दरताले पर्यटकलाई बढी लोभ्याउने गरी रानीमहल दरवारको मुख्य भागदेखि बगैँचा र परिसर विशेष किसिमले सिंगारिएको छ । नगरपालिकाको कार्यपालिका बैठकबाटै प्रेमको प्रतिक रानीमहललाई जतिसुकै खर्च लागेपनि पुरानै शैलीमा पुर्‍याउनु पर्छ भनेर व्यवस्थापन गरेको नगर उप–प्रमुख लक्ष्मीदेवी पाठकको भनाइ छ ।

रानीमहलमा पुग्ने पर्यटकलाई स्वच्छ पिउने पानी, महिला पुरुषलाई फरक–फरक शौचालय, निःशुल्क वाइफाइको व्यवस्था गरिएको तानसेन नगरपालिकाका सरसफाइ तथा रानीमहल व्यवस्थापन प्रमुख शंकर भण्डारीले बताउनु भयो ।

रानीमहल पुग्ने पर्यटकले अबका दिनमा दरवारभित्र राणा खड्ग शमशेर र रानी तेज कुमारी बस्ने कोठा, रानी र शमशेरले प्रयोग गरेका पुरातात्विक महत्वका सामानहरु हेर्न पाउने गरी व्यवस्था गरिएको छ । प्रेमको प्रतिक रानीमहल दरवार राणा खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा कालीगण्डकी किनारको ढुंगामाथी २४ रोपनी क्षेत्रफलमा वि.सं १९५४ मा निर्माण गरेका थिए । तानसेनबाट रानीमहलसम्म पुग्ने १३ किलोमिटर सडक लुम्विनी प्रदेश सरकारले स्तरोन्नती गरी पिचको काम गर्दै आएको छ । अहिले तानसेनबाट सवारी साधनमा आधा घण्टामा रानीमहल दरवार पुग्न सकिन्छ ।