
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत भएका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरु आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो ।
बैठकपछि समितिका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले समयमै स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल गरिएको बताउनुभयो । उहाँले स्थानीय तहको चुनावलाई समयमै सम्पन्न गर्ने विषयमा छलफल केन्द्रीत भएको बताउनुभयो । मिति घोषणा गर्नेबारे भने निर्वाचन आयोगसँग फेरि परामर्श गरिने उहाँको भनाइ छ ।
मन्त्री कार्कीले भन्नुभयो, ‘आज सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिमा रामचन्द्र पौडेलजीको संयोजकत्वमा बैठक सम्पन्न भएको छ । बैठकमा मूल रुपमा दुईटा कुरामा छलफल केन्द्रित छ । नम्बर वान, माग १२ गते सम्पन्न हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको विजयलाई कसरी सुनिश्चित गर्ने, यसबारेमा छलफल भएको छ । र अर्को, समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल केन्द्रित रहेको छ । स्थानीय तहको निर्वाचन दसमयमै सम्पन्न गर्ने, जे संविधानमा व्यवस्था छ । सोही अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ । तपाईले उठाउनु भएको प्रश्न जायजै होला । निर्वाचन आयोगसँग परामर्श भईराखेको छ । निर्वाचन आयोगसँग परामर्श भएर हामीले संविधानले तोकेकै समयमा स्थानीय निर्वाचन सम्पन्न गरेर संघीयतालाई अझ मजदुत बनाउँदै र स्थानीय जुन सरकार छ । त्यसले जनतालाई अरु बढि प्रभावकारी रुपमा सेवा, सुविधा पु¥याउने कुरामा सरकार गम्भिर छ र समयमै स्थानीय तह निर्वाचन सम्पन्न गराउँछ । सरकारले निर्वाचन आयोगसँग त लगातार छलफल गरिरहेको छ । तपाईहरुलाई जानकारी भईहाल्छ । मैले तपाईहरुलाई भन्न चाहन्छु–समयमै स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ ।’
निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले गत पुस ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तह निर्वाचनको तयारी थाल्न ध्यानाकर्षण गराएका थिए । समितिको अर्को बैठकबाट स्थानीय तहको चुनावको मिति तय गर्ने तयारी छ ।
बैठकमा माघ १२ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनबारे पनि छलफल भएको छ । रिक्त १९ पदमा सत्तागठबन्धनले भागबन्डा गरी उम्मेदवार उठाएका छन् । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेताहरू उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्