
बारा । पर्सा राष्ट्रिय निकुञ्जसहित बारा, पर्सा, रौतहट र मकवानपुरको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा आजदेखि बाघ गणना सुरु भएको छ ।
चितवन–पर्सा कम्प्लेक्सको तेस्रो ब्लक पर्सा निकुञ्ज तथा आसपासका क्षेत्रमा बाघ गणना क्यापी विधिबाट सुरु भएको हो ।
निकुञ्ज तथा यससँग जोडिएका ४ जिल्लाका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा ११ वटा प्राविधिक टोली गणनाका लागि खटिएको छ । ३ सय २१ ग्रीडमा क्यामेरा जडान गर्ने प्राविधिकसहित ८० जना जनशक्ति सहभागि रहने पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
४ वर्षअघि १८ वटा बाघ रहेको पर्सा निकुन्जमा बाघ बढेको हुन सक्ने टोलीका प्राविधिक बाबुराम लामिछानेले जानकारी दिनुभयो ।
बाघ गणनाका लागि चितवन–पर्सा कम्प्लेक्सलाई तीनवटा ब्लकमा विभाजन गरिएको थियो । पहिलो र दोस्रो ब्लकमा गणना सकिएपछि प्राविधिक टोलीले तेस्रो ब्लकअन्र्तगत पर्सा निकुञ्जसहित यससँग जोडिएका ४ जिल्लाको वनमा गणना गर्ने छ ।
वन्यजन्तु तथा काठ तस्करहरुले अघिल्लो गणनामा राखिएको क्यामेरा चोरी गरी फुटाउने गरेको हुँदा यस वर्ष गणक टोलीले सर्वपक्षिय भेला राखी छलफल गरेको थियो । सरकारले प्रत्येक ४ वर्षमा बाघ रहेका निकुञ्ज तथा आरक्षहरूमा बाघको गणना गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्