
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता प्रत्यक्ष प्रभाव देखिन थालेको छ । बैंकहरुले आपसमा लिने सापटी दर पाँच प्रतिशत नजिक पुगेको छ भने राष्ट्र बैंकसँग उठाउने सापटी पनि बढ्न थालेको छ ।
बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ९० प्रतिशतभन्दा थोरै कम भएपनि आधा जति बैंकको ९२ प्रतिशत हाराहारी रहेको छ ।
नेपाल राष्ट्र बैंकका सोमबार मात्र बैंकले स्थायी तरलता सुविधा बापत २२ अर्ब १४ करोड ३५ लाख रुपैयाँ प्रयोग गरेका छन् । पाँच प्रतिशतको यो सुविधा सात दिनका लागि प्रयोग गर्न पाइन्छ । यसबाहेक ओभरनाइट रिपो ३५ करोड उठाएका छन् । सोमबारसम्म बैंकहरुको राष्ट्र बैंकलाई तिर्नु पर्ने सापटी दायित्व ९० अर्ब ४९ करोड रुपैयाँ पुगिसकेको छ ।
अनिवार्य तरलता अनुपात कायम गर्ने पैसा नहुँदा उनीहरुले यो सापटी लिएका हुन् । अन्तर बैंक सापटी ४ दशमलव ९९ प्रतिशत पुगेको छ । सीडी रेसियो विस्तारै बढेर ८९ दशमलव ७८ प्रतिशत पुगेको छ ।
यसैबीच, वाणिज्य बैंकहरुले दुई सातामा ६५ अर्ब रुपैयाँ निक्षेप बढाएर ५४ अर्ब रुपैयाँ कर्जा दिएका छन् । वाणिज्य बैंकसँग पुसको दोस्रो सातासम्ममा ४२ खर्ब ४९ अर्ब निक्षेप रहेकोमा माघ २ गतेसम्म आइपुग्दा ४३ अर्ब १४ अर्ब रुपैयाँ निक्षेप पुगेको राष्ट्र बैंकको भनाइ छ ।
यस्तै, बैंकहरुले दुई सातामा ५४ अर्बले कर्जा बढाएका छन् । पुसको दोस्रो सातासम्म ४० खर्ब ९९ अर्ब कर्जा रहेकोमा बैंकहरुले ४१ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा दिएका छन् । स्थानीय तहको कोषको रकम ८० प्रतिशतसम्म निक्षेपमा देखाउन पाउने व्यवस्थासँगै बैंकहरुको निक्षेप बढेको हो ।
प्रतिक्रिया दिनुहोस्