१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्री आलेलाई अनुराेध- ‘एकपटक आन्तरिकतर्फको शौचालय पनि हेर्दिनुपर्‍यो मन्त्रीज्यू !’


7.41k
Shares

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट भन्ने गरेको छ । तर, सरसफाइको अवस्था हेर्दा पत्याउन गाह्रो पर्छ ।

आन्तरिक विमानस्थलतर्फको सवारी पार्किङ क्षेत्रमा वर्षौंदेखि दुर्गन्धित शौचालयको व्यवस्थापन हुन सकेको छैन । दैनिक हजारौं यात्रु ओहोरदोहोर गर्ने ठाउँको शौचालय सफा बनाउन विमानस्थल प्रशासनले ध्यान दिएको देखिँदैन ।

शौचालयका प्यान भरिएका छन्, फोहोरको उचित व्यवस्थापन भएको छैन । दृश्य घिनलाग्दो मात्र छैन अव्यवस्थित पनि छ । देशकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको सवारी पार्किङ क्षेत्रमा रहेको शौचालयमा देखिने दृश्यका बयान हुन् यी ।

दैनिक हजारौं यात्रुको अवागमन हुने ठाउँमा रहेको शौचालयको नाजुक अवस्था हेरिनसक्नु छ । विगत ४ वर्षदेखि यो शौचालय यस्तै फोहोर छ । तर, सरसफाइ तथा व्यवस्थापनमा विमानस्थल प्रशासनले चासो देखाएको छैन ।

शौचालयबाट निस्किएको फोहर दुर्गन्धले आफूहरू निकै पीडित भएको ट्याक्सीचालकहरु बताउँछन् । चार वर्षदेखि कैयौं पर्यटनमन्त्ती फेरिए, कैयौंपटक विमानस्थलको निरीक्षण र अनुगमन गर्न पनि गएका छन् । शौचालयको अवस्था दयनिय हुँदा पनि कसैले नहेरेको सर्वसाधारण र ट्याक्सी चालकको गुनासो छ ।

चार सयभन्दा बढी ट्याक्सी चालक र सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक शौचालय त्यहि नै हो । पुरुष शौचालयको मात्र होइन, महिला शौचालायको अवस्था पनि उस्तै छ । विमानस्थलका हाकिमहरुलार्ई गुनासो गर्दा पनि विभिन्न बहाना गर्ने गरेको ट्याक्सी चालकहरू बताउँछन् ।

शौचालयको दुर्दशा बारे बारम्बार सम्बन्धित निकायसमक्ष कुरा राख्दा पनिे सुनुवाइ नभएको उनीहरूको गुनासो छ । पर्यटकहरूले शौचालय खोइ भनि सोध्दा यस्तो फोहोर ठाउँ देखाउनु पर्दा लाज लाग्ने गरेको चालकहरू बताउँछन् ।

‘आन्तरिक उडानबाट यात्रा गर्ने पर्यटकहरुले प्रयोग गर्ने शौचालय पनि यहि नै हो,’ एक ट्याक्सी चालक भन्छन्, ‘विदेशीले यस्तो शौचालयमा जाँदा उमाथि नेपालप्रति कस्तो सन्देश जाला ? त्यो पो बढी लाजमर्दो छ त !’

पर्यटनमन्त्री प्रेम आलेको कामको प्रशंसा भइरहँदा विमानस्थलका ट्याक्सी चालकले आन्तरिकतर्फको शौचालयको पनि निरीक्षण र अनुमगन गर्न आग्रह गरेका छन् ।

‘विमानस्थलको अवस्था सुधार गर्छु भनेर लाग्नुभएको छ, यो शौचालयको बारेमा थाहा नपाउनुभाको हो कि,’ उनीहरू भन्छन्, ‘एकपटक शौचालय पनि हेर्दिनुपर्यो मन्त्रीज्यू !’

सार्वजनिक स्थलमा रहेका शौचालयको भद्रगोल अवस्थाले सरसफाइमा हाम्रो सोच र स्तर कस्तो छ भन्ने देखाउँछ ।