२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रहरी नियमावलीमा भएको संशोधनले तल्लो तहका कर्मचारीको हित हुन्छ : प्रवक्ता केसी


949
Shares

काठमाडौं, माघ ४ । नेपाल प्रहरी नियमावलीमा भएको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिकबल थप्ने नेपाल प्रहरीले प्रतिक्रिया दिएको छ ।

मंगलबार पत्रकारहरुसँगको अन्तक्र्रियामा बोल्दै प्रहरी वरिष्ठ उपनिरीक्षक तथा प्रवक्ता विष्णु कुमार केसीले पछिल्लो प्रहरी नियमावली संशोधन गरेर थप गरिएको तीन पदले २० वर्ष देखि एउटै पदमा बसेर काम गर्ने प्रहरीमा उत्प्रेरणा जगाउने बताउनु भएको हो । उहाँले नियमावली संशोधन तल्लो तहका प्रहरीको हितको लागि भएको बताउनुभयो ।

वरिष्ठ उपनिरीक्षक केसीले प्रहरीमा भएको पद थपले पद बढुवाको प्रतिस्पर्धालाई समेत सहज बनाउने बताउनु भयो । सरकारले नेपाल प्रहरीको प्रहरी नियमावली संशोधन गर्दै तीन वटा पदहरु प्रहरी वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दारको पद थप गरेको थियो ।

उक्त संशोधित प्रहरी नियमावली सरकारले सोमबार राजपत्रमा समेत प्रकाशित गरेको छ । यसरी थप भएको पदका लागि कुनै नयाँ दरबन्दी श्रृजना नहुने भएकोले धेरै आर्थिक भार सरकारलाई पर्न नसक्ने नेपाल प्रहरीले स्पष्ट पारेको छ ।

यस्तै यसअघि १२ वर्षसम्म एउटै पदमा बसेर अवकाशमा जाने प्रहरी नायब उपरिक्षक सम्मका अधिकृत र जुनियर अधिकृतलाई अवकाश हुनुभन्दा एक महिनाअघि स्वत बढुवा दिने व्यवस्था थियो । सरकारले नियमावलि संसोधन गरेर ८ वर्ष एउटै पदमा काम गरेर अवकाश हुने अवस्था आए स्वतः बढुवा गरेर एकतह पदोन्नति गरेर अवकाश दिने ब्यबस्था गरेको छ ।