
काठमाडौं । नेपाल प्रहरीमा मंगलबारदेखि ‘संशोधित प्रहरी नियमावली, २०७१’ लागू भएको छ । नयाँ नियमावली अनुसार अब नेपाल प्रहरीमा २० हजारभन्दा बढी कनिष्ठ अधिकृतहरुका लागि बढुवा खुलेको छ । नेपाल प्रहरीमा १८ वर्षदेखि बढुवा रोकिएकाहरुको संख्या ठूलो छ ।
संशोधित नियमावली लागू भएकाले आज माघ ५ गते नै अनिवार्य अवकाशमा जाने तयारीमा रहेका केही कनिष्ठ अधिकृतहरुको बढुवा हुने भएको जनाइएको छ ।
एकै पटक ठूलो संख्यामा बढुवा हुँदा तलब र अन्य सुविधा गरी सरकारलाई वार्षिक १७ करोड रुपैयाँको भार भने थपिने छ । नेपाल प्रहरीमा अहिले ४७ हजार जवान, झण्डै १५ हजार हवल्दार र चार हजार बढी सई रहेका छन् ।
नयाँ नियमावली अनुसार वरिष्ठ सई, हवल्दार र सहायक हवल्दारको दरबन्दी थपिएकाले २० हजार बढीको संख्यामा उनीहरुको एकै पटक बढुवा हुने छ । त्यस्तै, साढे १५ हजार प्रहरी जवान सहायक हवल्दारमा, साढे तीन हजार बढी हवल्दार वरिष्ठ प्रहरी हवल्दारमा र करीब १५ सय सइ वरिष्ठ सइमा बढुवा हुनेछन् ।
नयाँ नियमावलीमा बढुवाको अवधि पनि आठ बर्षबाट घटाएर पाँच वर्ष बनाइएको छ । यस्तै, अनिवार्य अवकाशको हकमा बढुवा अवधि १२ वर्षबाट आठ वर्ष कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्