
बागलुङ । कोरोना संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले मेला महोत्सव गर्न रोक लगाएको छ । सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । तर, सरकारी कार्यालयमा सेवाग्राहीको भीड हेर्दा जिल्ला प्रशासन कार्यालयको निर्देशनलाई गिज्याइरहेको भान हुन्छ ।
स्थानीय पालिका प्रमुखहरुले नै यो नियमलाई अंगीकार गरेको देखिएको छैन । नागरिकलाई सचेत बनाउनुको सट्टा उल्टै मेला महोत्सवमै गएर रिबन काटेर उद्घाटन गर्न भ्याइनभ्याइ छ । बागलुङ नगरपालिकामा बुस्टर डोज खोपसमेत दिन थालिएको छ । खोप दिने स्थानमा पनि नागरिकहरुले स्वास्थय सुरक्षाको मापदण्ड अपनाएको देखिदैन ।
मेला महोत्सव र भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालय बागलुङले सूचना जारी गरेको थियो । तर, त्यस पछाडि पनि जिल्लाका विभिन्न पालिका प्रमुखहरुको उपस्थितिमा ठूलै भिडभाड गरि मेला नै गरिएको पाइएको छ ।
जिल्लाबाट दर्जनौं सवारी साधानहरु ओहोरदोहोर गर्ने गर्दछन् । यसमा पनि यात्रुहरु कोचाकोच गरेर यात्रा गरेको पाइएको छ । यस तर्फ सम्बन्धित निकायले ध्यान पुर्याउन सकेको छैन् । भिडभाडले कोभिड–१९ संक्रमण झन बढ्न सक्ने चिकित्सकहरु बताउँछन् । संक्रमण रोकथामका लागि खोपलाई प्राथमिता दिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जिल्लाभर मेला महोत्सवहरु नगर्न निर्देश दिए पनि पालना नगरेको भन्दै त्यसमा प्रशासनले कडाई गर्ने बताउनुभयो । संक्रमण रोक्नका लागि जनचेतना मुलक कार्यक्रमहरु गर्ने र हरेक नागरिकलाई खोप प्रदान गर्ने उहाँको भनाई छ । उहाँले अहिले जिल्लामा बुस्टर डोज खोप समेत दिन सुरु गरिएको भन्दै जिल्ला प्रवेशद्वारहरुमा हेल्थ डेक्स स्थापना गर्ने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालको निर्देशन मात्र हैन, कोरोना नियन्त्रणको लागि व्यक्ति आफैं सचेत हुनु जरुरी छ । त्यसैले सम्बन्धित निकायसँगै नागरिक पनि सजक नभए संक्रमणको दर घट्नुको सट्टा झन भयावह हुने संभावना देखिन्छ । यसतर्फ सबैले ध्यान दिनु जरुरी भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्