
काठमाडौं, माघ ५ । आन्दोलनरत नेपाल बार एशोसिएशनले कोभिड–१९ को प्रकोपलाई देखाएर प्रधानन्यायाधीशको राजीनामा माग्दै जारी राखेको आन्दोलनको स्वरुप फेरेको छ ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा भौतिक रूपमै धर्ना र विरोधका कार्यक्रम गर्दै आएको एसोसिएसनले अब भर्चुअल माध्यमबाट अन्र्तक्रिया गरी आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।
एसोसिएसनले विज्ञप्ति जारी गर्दै न्यायपालिकालाई स्वतन्त्र र नियमित रुपमा सञ्चालन गर्न प्रधानन्यायाधीशको राजीनामा अन्तिम विकल्प बनेको भन्दै आन्दोलनलाई निरन्तर जारी राख्नुको पनि विकल्प नभएको जनाएको छ ।
पछिल्लो समय फैलिएको कोरोना सङ्क्रमणका कारण बार एसोसिएसनको आन्दोलनमा सहभागी ३ दर्जन कानुन व्यवसायीमा सङ्क्रमण भई उपचाररत रहेको विज्ञप्तिमार्फत जनाइएको छ ।
यसबीचमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सक्रिय भई थप भूमिका लिन खोजे भौतिक रूपमै विरोध कार्यक्रम गर्ने चेतावनी पनि बारले दिएको छ । आफूहरुको आन्दोलनका कारण न्यायाधीशको सरुवा, नियुक्ति, कर्मचारी बढुवा लगायतका कार्य रोकिएको भन्ने आरोपको एशोसिएशनले खण्डन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्