१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणहिटी सुरक्षाभित्रको असुरक्षा, बुलेटप्रुफ कक्ष र झ्याले बचाउन नसकेको राजपरिवार

‘सुरक्षा के हो ? फौजीको उपस्थिति, बन्दुकको संख्या, भरलाग्दो सूचना, भाषण या विश्वास !’

19.513k
Shares

काठमाडौं । राजामहाराजाको कार्यालय रहेको नारायणहिटी राजदरबारका अधिकांश झ्यालढोका बुलेटप्रुफ छन् ।

राजा वीरेन्द्रले निजी सचिवालयसहित अन्य तीनवटा कक्ष बुलेटप्रुफ बनाउन लगाउनुभएको थियो । विधिको विडम्बनातिनै राजाको सम्पूर्ण परिवार गोलीको शिकार भएर मारिनुपर्‍यो ।

बाहिरी आँखाले हेर्दा सामान्य देखिने यहाँका झ्याल बुलेटप्रुफ हुन् । राजपरिवार आफ्नो सुरक्षामा कति संवेदनशील रहेछ भन्ने यसैबाट पुष्टि हुन्छ । ५२ वर्षअघि वर्तमान स्वरूपमा बनेको राजदरबारमा त्यसपछिका राजाले भौतिक सुधार गर्दै आएका थिए ।

त्यसक्रममा सुरक्षा संरचनामा परिवर्तन प्रमुख एजेण्डा थियो । राजा ज्ञानेन्द्रले समेत आफ्नो कार्यकालमा बुलेटप्रुफ झ्यालको प्रबन्ध मिलाउनुभएको थियो । राजा महेन्द्रका पालामा दरबार बने पनि दुईवर्ष बढी बस्न नपाउँदै निधन भएपछि राजा वीरेन्द्रको पालामा दरबारको गुल्मी, धनकुटा र धादिङ कक्षमा झ्याल लगाइएको थियो ।

नारायणहिटी दरबारको अघिल्लो बुर्जामा लगाइएका सिसा पनि सुरक्षा संवेदनालाई ख्याल गरी बेलायतबाट झिकाएर लगाएको बताइन्छ । बेलायतबाटै झिकाएका अगाडीपट्टी लगाइएका सिसा पनि सुरक्षा दृष्टिले संवेदनशील रहेको छ ।

त्यस्तै हाल श्रीपेच राखिएको र त्यससँगै रहेको कपिलवस्तु र सुर्खेत कक्षमा पनि बुलेटप्रुफ झ्याल राखिएका छन् । याे कक्ष पाहुना आएका विदेशी राष्ट्रप्रमुखका भ्रमण दलका सदस्यहरूको खानपिनमा प्रयोग गरिन्थ्यो ।

कोठामा मात्र सीमित नभएर राजा चढ्ने गाडी र बग्गी पनि बुलेटप्रुफ थियो । बेलायतबाट ल्याइएको राजकीय यो बग्गी त तान्ने घोडा नै नहुँदा सेनाको संरक्षणमा सजाएर राखिएको छ । सुरक्षाकै लागि फोनबाट हुने सूचनाको पहुँच निस्तेज गर्न दरबार हातामा जामर राखिएको छ ।

यी सबै दूरदर्शिता बाबजुद नेपालकै इतिहासमा घटेको विभत्सपूर्ण दरबार हत्याकाण्ड अझै रहस्य गर्भमा छ । सुरक्षा के हो ? फौजीको उपस्थिति, बन्दुकको संख्या, भरलाग्दो सूचना, भाषण या विश्वास ।

त्यसैले सुरक्षाको विषयमा बहस हुँदा होस् या नीति निर्माण गर्दा यस्ता सुक्ष्म विषयमा ध्यान दिन जरुरी छ ।