२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पर्यटन क्षेत्र फेरि जोखिममा, निर्णय लिँदा स्वास्थ्य र रोजीरोटी दुवैलाई ध्यान दिन व्यवसायीको आग्रह

स्वास्थ्य सुरक्षा र व्यवसायलाई सँगै लैजानु अन्तिम विकल्प

715
Shares

काठमाडौं । समृद्धिको मूल आधार मानिएको पर्यटन क्षेत्र कोभिडका कारण नराम्ररी थला परेको छ ।

सन् २०१९ को अन्त्यबाट सुरु भएको महामारीको क्रम दुई वर्ष बितिसक्दा पनि रोकिएको छैन । उच्चदरमा बढिरहेको संक्रमणले भर्खरै मात्र बामे सर्न थालेको पर्यटन क्षेत्रलाई थप त्राहीमाम बनाएको छ ।

दुई वर्षसम्म शून्यको अवस्थाबाट गुज्रिएको पर्यटन क्षेत्र सरकारले निजी क्षेत्रसँग समन्वय नगर्दा थप जटिल बनेको व्यवसायीको विश्लेषण छ । संसारभरि नै समस्या भए पनि त्यसको व्यवस्थापन समयमै नहुँदा सर्वत्र त्यसको असर देखिएको छ ।

व्यवसाय गर्नेलाई सरकारले जहिले पनि आत्मबल घटाउने किसिमका कार्यक्रम ल्याउने गरेको व्यवसायीको गुनासो छ । स्वास्थ्य मापदण्डसँगै नागरिकको रोजीरोटीलाई पनि ध्यान दिन उनीहरूको आग्रह छ ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाह स्वास्थ्यको मात्र कुरा गर्दा जीवनयापन गर्न समस्या भएको बताउनुहुन्छ । सरकारले एकतर्फी विषयमा मात्र सोच्नुभन्दा पनि नीतिनियम बनाउँदा स्वास्थ्य र जीवनयापनलाई सँगसँगै लिएर जानुपर्ने उहाँको भनाइ छ ।

सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक भित्रिए । २०२० मा घटेर २ लाख ३० हजारमा खुम्चियो । अघिल्लो वर्ष १ लाख ५१ हजारमा सीमित बनेको सरकारी तथ्याङ्क छ । लाखौंले रोजगार पाएको पर्यटन क्षेत्रमा आज दशौं लाख मानिस बेरोजगार भएर पलायन भएका छन् ।

त्यसमा पनि दक्ष जनशक्ति पलायन हुँदा भोलिका दिनमा पनि काम गर्न समस्या हुने देखिएको छ । सरकारले पर्यटन क्षेत्रको बचाउमा सरकारी कर्मचारीलाई १० दिने काज बिदा दिने निर्णय भए पनि आधा वर्षसम्म कार्यविधि नबन्दा कार्यक्रम बेवारिसे बनेको छ ।

बाह्य पर्यटकलाई १ महिनाको निःशुल्क भिसा दिने विषयले बजेटमै प्राथमिकता पाएको थियो । यद्यपि पर्यटन बोर्ड निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढेको दावी गर्छ । बोर्डका मणिराज लामिछाने, आफूले बनाएको प्रोटोकल निजी क्षेत्रले पालना गर्दा होटल, रेस्टुरेन्ट र पर्यटक सवारीबाट पर्यटकलाई कोभिड सरेको रिपोर्ट नआएको बताउनुहुन्छ ।

कोभिडसँगको मित्रता अबको सुरक्षित बाटो हो । स्वास्थ्य सुरक्षा र व्यवसायलाई सँगसँगै लैजाने मध्यमार्गी बाटो अबको अन्तिम विकल्प हो । आत्तिने र मात्तिने परिवेशबाट देशको आर्थिक क्षेत्रलाई बचाउन सक्नु नै बुद्धिमानी हो ।

त्यसो त आँधी आएकै बेला सफल नाविकको परीक्षण हुने हो । यसतर्फ राजनीतिक र प्रशासनिक नेतृत्वको दूरदर्शी निर्णय अपेक्षित छ ।