१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सूचना केन्द्र स्थापना भएपछि छात्र छात्रालाई यौन शिक्षा बुझ्न सहज


351
Shares

बझाङ । बझाङका विद्यालयहरुमा किशोर किशोरीमैत्री सूचना केन्द्र स्थापना भएपछि छात्र छात्राहरुलाई यौन शिक्षा बुझ्न सहज भएको छ । शिक्षकहरु समेत विद्यार्थीहरुलाई खुलेर यौन शिक्षा अध्यापन गराउन सक्ने भएका छन् । यो भन्दा अगाडी न शिक्षक, न विद्यार्थी यौनका विषयमा खुलेर बोल्न असहज मान्दथे ।

अहिले बझाङका गाउँगाउँका विद्यालयमा किशोर किशोरीमैत्री सूचना केन्द्र स्थापना भएका छन् । यसको सहज पहुँचले खुलेर पढ्न र अध्यापन गर्न सजिलो भएको छ । सूचना केन्द्र स्थापना हुनु भन्दा पूर्व यस्तो खुलस्त हैन यौनको कुरा आउँदा लजाउने अवस्था थियो । जब विद्यालय हातामै सूचना केन्द्र स्थापना भयो, त्यसपछि भने किशोर किशोरी सँगै शिक्षक, शिक्षिकामा समेत परिवर्तन आएको छ ।

त्यति मात्र हैन, सूचनामैत्री केन्द्रमा स–सना बालबालिकाबीच हुने झगडा पनि सूचना केन्द्रमा बसेर बालबालिकाहरु आफैंले मिलापत्र गर्ने गरेका छन् । अहिले केन्द्रमा सेनेटरी प्याड समेत उपलब्ध हुने भएका कारण किशोरीहरुलाई थप सहज भएको भैरव माध्यमिक विद्यालय झोताकी छात्रा रबिना धामीको अनुभव छ ।

समाजमा हुने गरेका, विसंगतीसँग लड्न थप उत्प्रेरणा मिल्नुका साथै यौन हिंसाका बारेमा पनि ज्ञान आर्जन गर्न सजिलो भएको कक्षा १० मा अध्ययनरत सञ्जय ओलीको भनाई छ । अहिले विद्यालयमा अध्ययनरत मात्र हैन, आसपासका महिलाहरु समेत सूचना केन्द्रमा पुगेर शिक्षा आर्जन गर्न थालेका छन् ।

सबै किशोर किशोरीहरु यहाँ आउन नमान्ने तर अहिले खुलेर त्यहाँ पुग्नुका साथै यसबाट फाईदा समेत लिई रहेका छन् । केन्द्रमा पुगेर विद्यार्थीहरुले आफ्नो उचाई, तौल र अन्य स्वास्थ्य अवस्थासमेत बुझ्ने गरेका छन् । तनाव ब्यवस्थापन गर्ने र यसैबाट विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको फोकल शिक्षक खगेन्द्रनाथ वियोगीको भनाई छ ।

युएनएपिएको आर्थिक सहयोगमा फाया नेपाल कैलालीको समन्वयमा बझाङका २६ वटा विद्यालयमा किशोर किशोरी मैत्री सुचना केन्द्र स्थापना भएका छन् । किशोर किशोरी मैत्री सुचना केन्द्र मा.वि. तहका सबै विद्यालयहरुमा संचालन गर्न जरुरी छ । जसका कारणले किशोर किशोरीहरुलाई यौन शिक्षाका बारेमा ज्ञान लिन सहज हुने देखिन्छ । यसका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारको ध्यान जान जरुरी छ ।