
इलाम । स्थानीय जातका गाईमा उन्नत जातको कृतिम गर्भाधान प्रविधिको प्रयोगले इलाममा उन्नत जातका गाईको संख्यामा वृद्धि भएको छ । कृतिम गर्भाधान सेवा सुरु भएको इलामको १० पालिका मध्ये तीन पालिकामा मात्रै स्थानीय जातको गाईपालन हुँदै आएको हो ।
सूर्योदय–१० इलामका पुरुषोत्तम पराजुलीले स्थानीय जातका गाई पालन गर्न छोडेको १० वर्ष बित्यो । श्रम उत्तिकै भएपनि स्थानीय जातका गाईबाट दूधको उत्पादन कम भएपछि पराजुलीको गोठमा अहिले उन्नत जातको गाई र बाछीहरु छन् । दूध धेरै दिने र आम्दानी पनि राम्रो हुन थालेपछि उन्नत जातको साँढेको सिमेन गाईका बाछीहरुमा प्रयोग बढेसँगै इलाममा उन्नत जातको संख्यामा वृद्धि आएको छ ।
स्थानीय गाईमा उन्नत जातको साँढेको सीमेन प्रयोग गरेपछि जन्मिने बाछाबाछी उन्नत जातकै हुन्छन् । कृतिम गर्भाधानबाट हुर्किएका बाछीहरुमा पुनः कृतिम गर्भाधान सेवा नियमित भएपछि इलाममा उन्नत गाईको संख्या वृद्धि भएको हो । उन्नत जातका गाईबाट बिहान र साँझगरि २० लिटरदेखि ३० लिटरसम्म दूध संकलन हुने हुन्छ ।
दैनिक १६ देखि २० लिटर दूध दिने गाईको मुल्य अहिले १ लाख १५ हजारसम्ममा खरिद बिक्रि हुँदै आएको छ । ३० लिटरसम्म दूध दिने गाईलाई २ लाखसम्ममा खरिद बिक्री हुन्छ । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रकको तथ्यांकमा इलामका १० स्थानीय तहमध्ये माई, चुलाचुली र माङ्सेबुङ्गको पालिकाको केहि वडामा मात्रै स्थानीय जातको गाईपालन हुँदै आएको छ । जिल्लामा अहिले उन्नत जातका गाईसँगै अन्य पशुपालनमा पनि किसानको आर्कषण उतिक्कै बढ्दो छ ।
इलाममा २०४६ सालबाट गाईमा कृतिम गर्भाधन सेवा सुरु भएको थियो । कृतिम गर्भाधानमा प्रयोग हुने सिमेनको किसानले २५ रुपैयाँमा शुल्क तिर्नुपर्ने हुन्छ । सरकारले उन्नत साँढेको सिमेन झिकेर किसानका गाई र बाछीहरुमा कृतिम गर्भाधानको सेवा दिन थालिएपछि उन्नत गाईको संख्यामा वृद्धि आएको हो । कृतिम गर्भाधानका लागि आवश्यक सिमेन पोखरा र लहानका फार्ममा उत्पादन गरि स्थानीय तहका पशु सेवा शाखा मार्फत किसानलाई सेवा प्रदान गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्