५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट भित्र्याउन थप ब्याज र अनुदानको व्यवस्था गर्न निजी क्षेत्रको सुझाव


13
Shares

काठकाडौं, माघ ६ । रेमिटेन्सलाई बैंकिङ च्यानलमार्फत भित्र्याउन थप ब्याज र अनुदानको व्यवस्था गर्न निजी क्षेत्रले सरकारलाई सुझाव दिएको छ ।

छलफलमा निजी क्षेत्रका तीन छाता संगठनले सरकारसँग आफूहरुप्रति सम्मानजनक व्यवहार गर्न पनि माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रेमिट्यान्स बैंकिङ च्यानलमार्फत भित्र्याउन बैंक वित्तीय संस्थाले १ प्रतिशत ब्याजदर थप गरेजस्तै सरकारका तर्फबाट अर्को १ प्रतिशतसम्म ब्यादजर थप्नेगरी अनुदान दिनु पर्ने बताउनुभयो ।

उहाँले विदेश जाने श्रमिकले नेपालमा रेमिटेन्स नपठाए मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताउनुभयो । अध्यक्ष गोल्छाले विदेश जाने श्रमिकलाई कर्मचारी संचय कोषमा आबद्ध गराएर पनि रेमिट्यान्सलाई औपचारिक मार्फत फर्काउन सकिने बताउनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले सरकारले कोरोना महामारी रोकथामको लागि उद्योग व्यवसाय चलायमान गर्ने रणनीति बनाउने पर्ने बताउनुभयो । अध्यक्ष अग्रवालले सरकारकै कारण उद्योगी व्यवसायीको मनोवल कमजोर बन्दै गएको पनि बताउनुभयो ।

नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष कमलेश अग्रवालले राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंकको सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो ल्याउनु नै बजारमा देखिएको तरलताको मुख्य कारण रहेको टिप्पणी गर्नुभयो ।

छलफलमा उद्योगी व्यवसायीले ब्याजदर आयातको तुलनामा आन्तरिक उत्पादनमा सस्तो हुनुपर्ने, पेट्रोलियम पदार्थको मूल्य भारतको मूल्य बराबर बनाउनु पर्ने लगायतका सुझाव दिएका छन् ।