
काठमाडौं । ज्वरो आउँदा आममानिसले प्रयोग गर्ने सिटामोल बजारमा अभाव भएको समाचारले तरङ्ग उत्पन्न भएको छ । कोभिड संक्रमणले दैनिक हजारौं प्रभावित हुँदै जाँदा सिटामोलको व्यापक माग हुने गरेको छ ।
सरकारी स्वामित्वको औषधि व्यवस्था लिमिटेडले न्यून संख्यामा उत्पादन गर्ने, निजीक्षेत्र कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढेको निहुँ पारेर मूल्य बढाउने दाउमा रहँदा बजारमा कृत्रिम अभाव भएको अर्कोथरी विश्लेषण छ ।
एक महिनादेखि राजधानीका अधिकांश फार्मेसीहरूमा सिटामोलको अभाव देखिएको छ । दर्जनौं मानिस सिटामोल खोज्दै औषधि पसलमा आउने गरेका छन् । औषधि विक्रेताहरू सिटामोलको सट्टा वैकल्पिक औषधि दिँदै आइरहेको बताउँछन् ।
सबै फार्मेसीहरूबाट औषधिको माग एकैपटक बढेको र कच्चा पदार्थको आपूर्तिमा ढिलाइ भएका कारण सिटामोलको अभाव भएको सरकारी दावी छ । अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्यमा भएको वृद्धिले औषधि उत्पानमा कमी आएको औषधि उत्पादन लिमिटेडका प्रवक्ता टिकाराम अर्याल बताउनुहुन्छ ।
सरकारले कच्चा पदार्थको मूल्य समायोजन गर्नका लागि सहयोग गर्ने हो भने औषधि वितरणमा कुनै पनि समस्या नआउने विभागको दाबी छ । औषधि विक्रेताहरूले भने बजारमा सिटामोलको अत्यधिक माग भएकाले चाँडो उपलब्ध गराइदिन सरोकारवालासँग माग गरेका छन् ।
देशैभर कोरोना महामारी फैलिरहेको अवस्थामा औषधि पसलमा सिटामोलको अभाव आफैंमा उदेकलाग्दो विषय हो । त्यसैले बजारमा आधारभूत औषधिको अभाव हुन नदिन तत्काल कदम चाल्नु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्