२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


सोलुखुम्बुमा पुनः ‘तपाईंको मास्क खै ?’ अभियान सुरु


104
Shares

सोलुखुम्बु । कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि जिल्लामा पुनः ‘तपाईंको मास्क खै ?’ अभियान सुरु गरिएको छ ।

कोरोनाको पहिलो र दोस्रो भेरियन्टको समयमा प्रभावकारी मानिएको अभियान ओमिक्रोन भाइरससहितको संक्रमण तीव्र गतिमा फैलन थालेपछि पुनः सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले प्रहरी, स्वास्थ्य कार्यालय, सोलुखुम्बुको स्थास्थ्य क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था लगायतका सरोकारवाला निकायको समन्वयमा ‘तपाईंको मास्क खै ?’ अभियान सुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयदेखि फाप्लु र दोर्पु क्षेत्रमा दुई टोली परिचान गरी दुई हजार थान मास्क वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताउनुभयो ।

कोरोना संक्रमणको भयावह स्थिती सिर्जना नहोस् भन्नका लागि अहिले नै समुदायलाई सचेतिकरण गरिएको प्रमुख जिल्ला अधिकारी शाहीले बताउनुभयो ।

यसका साथै जिल्लामा माघ ७ गतेबाट सरकारी कार्यालयमा सेवा लिन जाँदा अनिवार्य खोप कार्ड लिएर जानुपर्ने भएको छ । जिल्लाका सबै प्रहरी इकाईबाट सचेतना जगाउने काम हुने प्रहरी नायब उपरीक्षक कवित कट्वालले जानकारी दिनुभयो ।

स्थानीय तहसँगको समन्वयमा अनिवार्य मास्क लगाउनेलगायतका स्वास्थ्य सम्बन्धी महत्वूपर्ण सन्देश प्रवाहका लागि काम गरिरहेको कट्वालको भनाइ छ ।

जिल्लामा भिडभाड हुने क्षेत्रमा अनिवार्य स्वास्थ्य सावधानी अपनाउनुपर्ने, २५ जना भन्दा बढी जम्मा हुन नपाइने, स्थानीय हाटबजारमा स्थानीय उत्पादन मात्रै बिक्री वितरण गर्न पाउने व्यवस्था गरिएको छ ।