१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१४ सय वर्षअघिको शिलालेखबाट खुलेकाे रहस्य : ‘शक संवत् र मानदेव संवत् प्रचलनमै थिएन’


35.607k
Shares

काठमाडौं । लिच्छवीकालमा नेपालमा शक संवत् र मानदेव संवत् प्रचलनमा रहेको मानिन्छ ।

तर, गत पौष ५ गते पाटन दरबार क्षेत्रमा फेला परेको अशुंवर्माको बौद्ध शिलालेखले यो मान्यतालाई मिथ्या सावित गरेको विज्ञहरूको दावी छ ।

ऐतिहासिक पाटन दरबार पहिला वृषदेवको समयमा बौद्ध विहार थियो भन्ने प्रमाण कैलाशकुट भवनबाट जारी भएको अशुंवर्माको बौद्ध शिलालेखले दिएको थियो ।

त्यसैले अहिले पनि दरबारको मुल स्वर्ण झ्यालमा लोकेश्वरको मूर्ति राखिएको छ । दरबारको उत्तर र पश्चिममा मणि चैत्य र बुद्ध मूर्तिहरू रहेका छन् ।

श्रावण महिनाभर गुलाँ पर्वमा अहिले पनि दरबारको मूल ढोकामा पानीभित्र बुद्ध मूर्ति प्रदर्शन गर्ने चलन रहेको छ । यही शिलालेखको लिप्यान्तरपछि नेपालमा लिच्छवीकालमा शक संवत र मानदेव संवत प्रचलनमा नरहेको तथ्य बाहिर आएको हो ।

शिलालेखमा संवत् ५३६ ज्येष्ठ शुक्ल पूर्णिमा प्रष्ट उल्लेख भएबाट यो अकाट्य प्रमाण भएको विज्ञको दावी छ ।

३२ वर्षअघि गोकर्णको बालुवा गाउँमा प्राप्त अशुंवर्माको संवत् ५३६ द्धितीय पौषको शिलालेखले यो तथ्यलाई नै पुष्टि गरेकोमा यो शिलालेखले थप प्रमाण जुटाएको लिपिविद् श्यामसुन्दर राजवंशी बताउनुहुन्छ ।

नेपालमा लिच्छवी संवत् मात्र चलेको र अन्य संवत् प्रचलनमा नरहेको राजवंशीको भनाइ छ ।

लिच्छवी संवत् ८०२ पछि मात्र नयाँ संवत्को रूपमा नेपाल संवत् सुरु भएको भन्दै उहाँ, यो १४ सय वर्ष पुरानो शिलालेख ऐतिहासिक र पुरातात्विक दृष्टिकोणले ठूलो उपलब्धि भएको बताउनुहुन्छ ।

]शिलालेखले नेपालकोको इतिहासमा नयाँ मोड दिएकोले अहिलेको लिखत इतिहाससमेत सालक्रम अनुसार सुधार गर्नुपर्ने उहाँको सुझाव छ । तर, केही इतिहासकारहरू यो तथ्यलाई स्वीकार्न तयार छैनन् ।

तसर्थ सबै इतिहासविद् लगायत विज्ञहरूको वृहत छलफलबाट ठोस निष्कर्ष निकालेर इतिहासलाई आवश्यकताअनुसार संशोधन गर्न आवश्यक छ ।