
पोखरा । गण्डकी प्रदेशमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोरखा नगरपालिका–११का ४० वर्षीय संक्रमित पुरुष र पर्वत जिल्ला कुश्मा नगरपालिका–१३ की २३ वर्षीया संक्रमित महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या १ हजार ४ सय ३२ पुगेको छ ।
यस्तै आज थप एकै दिन प्रदेशमा ९ सय जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १७ सय २ जनामा गरिएको परीक्षणमा प्रदेशका १० जिल्लाका ९ सय जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । सोही अवधिमा १ सय २१ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमित हुनेमा कास्कीका ४ सय ८९, गोरखाका ४०, मुस्ताङका १, म्याग्दीका १९, लमजुङका ४५, तनहुँका ६९, नवलपरासीका ६१, बागलुङका ३७, पर्वतका १६ र स्याङ्जाका १ सय २३ जना रहेको निर्देशनालयले जनाएको छ ।
यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९२ हजार ८८५ पुगेको छ भने निको हुनेको संख्या ८७ हजार ३ सय ३६ रहेको छ ।
प्रदेशमा हालसम्म ३ लाख ६२ हजार २६० जनाको परीक्षण भएको छ । हाल गण्डकीमा ४१ सय १७ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४ हजार ४१ जना होम आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्